पूर्वराजा ज्ञानेन्द्रको स्वागतसहित शक्ति प्रदर्शनको तयारीमा राप्रपा, ठूला दलहरूमा तरङ्ग

नेपालभ्युज

पूर्वराजा ज्ञानेन्द्रको स्वागतसहित शक्ति प्रदर्शनको तयारीमा राप्रपा,  ठूला दलहरूमा तरङ्ग
फाइल तस्वीर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज (आइतबार) राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । पूर्वाराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किने कार्यक्रमअन्तर्गत राजसंस्थाको वकालत गरिरहेको दल राप्रपाले शक्रि प्रदर्शन गर्न लागेको हो ।

राप्रपाका नेता–कार्यकर्तासहित राजसंस्था पक्षधर आज पूर्वराजा शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल जाने कार्यक्रम छ । त्यसपछि उनलाई महाराजगञ्जस्थित निर्मल निवास पुर्याइने कार्यक्रम रहेको राप्रपाले जनाएको छ ।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पूर्वराजालाई स्वागत गर्न आज दिउँसो १ बजे विमानस्थल पुग्न सबैलाई अनुरोध गरेका छन् ।

‘सबैलाई फागुन २५ गते दिउँसो १ बजे काठमाडौं एअरपोर्टमका राजाको स्वागतका लागि उपस्थित हुन हार्दिक निमन्त्रणा गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । ‘जोसँग जुन सवारी साधन छ, त्यही प्रयोग गरेर आउने सबैलाई उपस्थितका लागि हार्दिक निमन्त्रणा गर्दछु ।’

यही फागुन ७ गतेको प्रजातन्त्र दिवसको अवसर पारेर पूर्वराजा शाहले राजसंस्था फर्काउने समय आएको भन्दै साथ दिन अपिल गरेका थिए । त्यसबाट हौसिएर राप्रपालगायत राजसंस्था पक्षधरहरू आन्दोलनरत छन् । उनीहरूले अब चाँडी राजसंस्था पुनस्र्थापना हुने दाबी गर्दै आएका छन् ।

यसले ठूला दलहरूमा तरङ्ग पैदा गरेकाे छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र फर्काउने षड्यन्त्रमा नलाग्न पूर्व राजा र राजावादीलाई चेतावनी दिएका छन् । फागुन २२ मा महोत्तरीबाट उनले भने, ‘उहिले नेपाली जनताले फालेको राजतन्त्रलाई त्यो तन्त्र कताबाट उधिनेर ल्याउने हो ?’

यस्तै गत बिहीबार महोत्तरीमै आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रमा राजतन्त्रको स्थान नभएको बताएका थिए ।

यसैबीच नेकपा माओवादी केन्द्रले तराई-मधेस जागरण अभियान स्थगित गरेको छ ।

राजनीतिक घटनाक्रममा नयाँ परिस्थिति सिर्जना भएको र त्यसबारे गणतन्त्रवादी दलहरूसँग सघन छलफल गरेर अघि बढ्नुपर्ने र संसद्मा समेत उपस्थिति बलियो बनाउनुपर्ने देखिएकाले कार्यक्रम तत्काललाई स्थगित गरिएको महासचिव देव गुरुङले नेपालभ्युजलाई बताए ।

यस्तै सरकारको नेतृत्व गरेको दल नेकपा एमालेका नेताहरूले पनि राजसंस्थावादीको प्रदर्शनलाई लिएर विभिन्न टिप्पणी गरिरहेका छन् ।

यसैगरी शनिबार साँझ प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई शीतल निवास पुगेर भेटेका थिए । यसलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

पूर्वराजा शाहले गण्डकी प्रदेशका विभिन्न ठाउँका मन्दिरको भ्रमण गरेका थिए । साथै उनले पोखराका बनेको स्वर्गीय राजा वीरेन्द्रको शालिकसमेत अनावरण गरेका थिए । त्यहाको भ्रमण सकेर उनी काठमाडौं फर्किन लागेका हुन् ।

राप्रपाको कार्यक्रमलाई मध्यनजर गरेर आज काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाउने नेपाल प्रहरीले जनाएको छ । करिब १० हजार मानिस प्रदर्शनमा उत्रने प्रहरीको अनुमान छ । राप्रपाले भने लाखौं मानिस उतार्ने लक्ष्य राखिएको जनाएको छ ।

सम्बन्धित समाचारहरू :

प्रधानमन्त्री ओलीले भेटे राष्ट्रपति पौडेल

राजावादीका गतिविधिको प्रतिवाद गर्न माओवादी केन्द्रले स्थगित गर्‍यो अभियान


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved