चन्द्रपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् । उनले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको स्प्रष्ट पारे ।
शनिबार बिहान रौतहट गरुडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै प्रचण्डले भने, ‘इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदी उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ ।’
अर्को प्रसङ्गमा पूर्वप्रधानमन्त्री प्रचण्डले गरुडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने बताए । यस मिलसँग रोजगारी, आर्थिक विकाससमेत जोडिएको हुँदा श्रीराम सुगर मिल सञ्चालनको लागि पार्टीको तर्फबाट सक्दो सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।
अध्यक्ष प्रचण्डसहितको टोली माओवादी केन्द्रको जनतासँग माओवादी तराई–मधेस जागरण अभिायनअन्तर्गत शुक्रबार साँझ रौतहट आइपुगेका हाे ।
शनिबार दिउँसो परोहा नगरपालिकाको लौकाहामा आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य एवं रौतहट क्षेत्र नम्बर ४ ‘क’का प्रदेशसभा सदस्य युवराज भट्टराई ‘समिर’ले जानकारी दिए ।
Facebook Comment
Comment