ब्रसेल्स । युरोपेली सङ्घ (ईयू)की प्रमुख उर्सुला भान डेर लेयनले युरोपको रक्षाका लागि करिब आठ खर्ब युरो परिचालन गर्ने घोषणा गरेकी छिन् । अमेरिकाले सहायता निलम्बन गरेपछि उनले मङ्गलबार युक्रेनलाई ‘तत्काल’ सैन्य सहयोग उपलब्ध गराउन सहयोग गर्ने पाँच भागको योजनासमेत प्रस्तुत गरिन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको शान्ति सम्झौताका लागि वासिङ्टनको दबाबलाई तीव्र पार्दै र किभको युद्ध प्रयासलाई समर्थन गर्न आफ्ना युरोपेली सहयोगी र साझेदारहरूबाट टाढा रहेको पुष्टि गर्दै सहायता रोक्ने घोषणा गरेको केही घण्टापछि यो कदम चालिएको हो ।
‘हामी एक नयाँ युगमा प्रवेश गरिरहेका छौँ,’ युरोपेली आयोग प्रमुखले युक्रेनलाई समर्थन र युरोपको रक्षा बढाउने लक्ष्यका साथ हुने शिखर सम्मेलनको दुई दिनअघि युरोपेली नेताहरूलाई पत्रमा लेखिन् ।
‘युरोपलाई पुनः सशस्त्र बनाउने योजनाले एक सुरक्षित र लचिलो युरोपका लागि करिब आठ खर्ब युरोको रक्षा खर्च जुटाउन सक्छ,’ भन्दै लेयेनले पत्रकारहरूलाई योजनाको रुपरेखा प्रस्तुत गरिन् । उक्त योजनाको रुपरेखामा एक खर्ब ५० अर्ब युरोको ऋण सुविधा र ठूलो मात्रामा रक्षा लगानी गर्न मुक्त गर्ने कदमहरू समावेश छन् ।
सदस्य राज्यहरूको स्वीकृति आवश्यक पर्ने प्रस्तावहरूअन्तर्गत कोष कति चाँडो उपलब्ध हुन सक्छ र यसले किभलाई मोर्चामा कति चाँडो समर्थन दिन सक्छ भन्ने स्पष्ट भने पारिएको छैन ।
‘यसले केही खरिदहरूलाई वित्त पोषण वा तीव्र बनाउन सक्छ,’ युरोपेली विदेश सम्बन्ध परिषद्का कामिल ग्रान्डले भने, ‘परिणामहरू तत्कालभन्दा पनि सम्भवतः हप्ता वा महिनाहरूमा देखा पर्नेछन्, तर यसले अन्तर पार्छ । किनकि त्यही बेला अमेरिकी प्रतिबन्धहरू लागू हुन थाल्नेछन् ।’
यस्ता छन् ५ बुँदे योजना :
१. यसले ईयूलाई कडा बजेट नियमहरू सजिलो बनाउन प्रस्ताव गर्छ । यसबाट राज्यहरूलाई कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को तीन प्रतिशतभन्दा कम सार्वजनिक घाटा कायम राख्न बाध्य पार्ने हुनाले उनीहरूलाई रक्षामा खर्च बढाउन अनुमति दिन्छ । लेयनले यो उपायले चार वर्षमा ६ खर्ब ५० अर्ब युरो मुक्त गर्न सकिने सुझाव दिइन् ।
२. दोस्रो योजनाले सदस्य राज्यहरूलाई रक्षा लगानीका लागि एक खर्ब ५० अर्ब युरोको ऋण उपलब्ध गराउन नयाँ ‘साधन’को आह्वान गरेको छ ।
३. हामी प्यान–युरोपेली क्षमता क्षेत्रहरूका बारेमा कुरा गर्दैछौँ – उदाहरणका लागि, हवाई र मिसाइल रक्षा, तोपखाना प्रणालीहरू, मिसाइल र गोला–बरुद ड्रोन र एन्टी–ड्रोन प्रणालीहरू,’ लेयेनले भनिन्, ‘यस उपकरणका साथ, सदस्य राष्ट्रहरूले युक्रेनलाई आफ्नो समर्थन बढाउन सक्छन् । त्यसैले यी युक्रेनका लागि तत्काल उपलब्ध सैन्य उपकरणहरू हुन् ।
४. तेस्रो घटकले मौजुदा ईयूको बजेट ‘रक्षा–सम्बन्धी लगानीतर्फ अझ बढी कोष निर्देशित गर्न’ संलग्न गर्नेछ । त्यसमा सदस्य राज्यहरूलाई कमजोर युरोपेली मुलुकहरूको विकासका लागि लक्षित ‘सामञ्जस्य’ कोषलाई रक्षाका लागि पुनः प्रयोग गर्न अनुमति दिने कुरा समावेश हुनेछ ।
५. कार्यका अन्तिम दुई क्षेत्रले इयुको ऋण शाखा युरोपेली लगानी बैङ्कसँग सम्बन्धित हुनेछ । इयुका राज्यहरू रक्षा कम्पनीहरूलाई ऋण दिने सीमा हटाउन र कम्पनीहरूलाई पूँजी पहुँच गर्न सहायता गर्न बचत र लगानी सङ्घ बनाउन चाहन्छन् ।
मङ्गलबार युरोपेली सङ्घका नेताहरूलाई पठाएको छुट्टै पत्रमा युरोपेली बैंककी अध्यक्ष नादिया क्याल्भिनोले ईयूको ‘नयाँ नीतिगत प्राथमिकताहरू’सँग मेलमिलाप गर्न योग्य लगानीको दायरा ‘थप फराकिलो’ बनाउन आह्वान गर्ने बताइन् ।
एक युरोपेली अधिकारीका अनुसार यसले हाल दोहोरो प्रयोग नागरिक र सैन्य वस्तुहरूको सट्टा शुद्ध रक्षा परियोजनाहरूलाई योग्य बनाउनेछ र सुरक्षा र रक्षा लगानीमा आठ अर्ब युरोको सीमा हटाउनेछ ।
यसले बैंकलाई हेलिकोप्टरजस्ता वास्तविक नागरिक प्रयोगविहीन ठूला स्तरका रणनीतिक परियोजनाहरू र वस्तुहरूलाई समर्थन गर्न अनुमति दिनेछ ।
‘युरोपमाथि खतरा रहेकाे निष्कर्ष
ब्रसेल्समा बिहीबारको शिखर सम्मेलनमा युरोपले अमेरिकाले युक्रेनलाई र व्यापक रुपमा आफ्ना युरोपेली सहयोगीहरूलाई दीर्घकालीन समर्थन फिर्ता लिने स्पष्ट सम्भावनाको विचार गर्दैछ । शिखर सम्मेलनमा सप्ताहन्त सङ्कट वार्तामा बेलायत र नाटो पनि संलग्न थिए ।
ब्रसेल्सले सदस्य राज्यहरूलाई तत्काल एक नयाँ महत्त्वपूर्ण हतियारको प्याकेज सुपुर्द गर्न सहमत हुन दबाव दिँदैछ, तर बिहीबार सम्झौता हुने स्पष्ट थिएन ।
तथापि युरोपेली नेताहरूबीच रुसविरुद्ध आफ्नो रक्षा मजबुत गर्न सैन्य खर्च उल्लेखनीय रुपमा बढाउने आवश्यकतामा व्यापक सहमति देखा परेको छ । यो ट्रम्प प्रशासनको नाटो सहयोगीहरूप्रतिको एक प्रमुख माग हो ।
‘युरोपले एक स्पष्ट र वर्तमान खतरा सामना गर्दैछ जो हाम्रो वयस्क जीवनमा कहिल्यै देखिएको थिएन,’ लेयेनले रक्षा विकल्पहरूको व्याख्या गर्दै लेखिन्, ‘हामी सबैभन्दा महत्त्वपूर्ण र खतरनाक समयमा बाँच्दै छौँ, यो युरोपको लागि एक क्षण हो र हामी उठ्न तयार छौँ ।’
Facebook Comment
Comment