गौर हत्याकाण्डजस्ता षड्यन्त्र गरी मधेसी जनतामा माओवादीप्रति भ्रम छरियो : प्रचण्ड

नेपालभ्युज

गौर हत्याकाण्डजस्ता षड्यन्त्र गरी मधेसी जनतामा माओवादीप्रति भ्रम छरियो : प्रचण्ड

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताले भोग्दै आएको विभेद र अपमानको समस्या मधेसको मात्र नभई राष्ट्रकै समस्या भएको र यसको समाधान आफ्नो पार्टीले मात्रै गर्न सक्ने दाबी गरेका छन् ।

जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा सिरहा नगरपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

मधेसका मसिहा ठान्ने दलहरूले मधेसी जनतामाथि नै घात गरिरहेकाले अब उनीहरूको भ्रमबाट मुक्त हुनुपर्ने बेला आएको उनले स्पष्ट गरे । महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु आदिको पहिचान र अधिकार स्थापित गर्ने दल माओवादी नै भएको स्पष्ट गर्दै अध्यक्ष प्रचण्डले अब मधेसले माओवादीलाई फेरि विश्वास गर्ने बेला आएको बताए ।

झन्डै एक हजार तीन सय मधेसी जनताका छोराछोरीले माओवादी जनयुद्धमा बलिदान गरेको पनि उनले बताए । आफ्नो पार्टीले जनयुद्ध सुरु गर्दा पहिलोपटक हतियारको तालिम मदेसबाटै सुरु गरेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले आफूले पहिलोपटक हतियारको तालिम धनुषा र सिरहाबाटै लिएको स्मरण गराए ।

२०६४ सम्म आउँदा मधेस माओवादीमय भएको तर पार्टी एकता बचाउन नसक्दा र गौरहत्याकाण्डजस्ता विभिन्न षड्यन्त्रका कारण मधेसी जनतामा माओवादीप्रति भ्रम पर्न गएको र यही भ्रम हटाउन अहिले तराई मधेस जागरण अभियान लिएर आएको उनले स्पष्ट पारे ।

नेपालको इतिहासमै पहिलोपटक राजनीतिक दलको तर्फबाट हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरिएको उल्लेख गर्दै उनले देशको होचो स्थान कचनकवलबट सुरु गरिएको यो अभियानको दोस्रो संस्करण मध्यपहाडी लोकमार्ग हुँदै देशको अग्लो भूभाग रहेको सोलुखुम्बुमा गएर समापन गरिने जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved