नागरिकलाई स्वास्थ्य बीमा उपलब्ध गराउन बजेट अभाव, ४२ अर्ब माग

नेपालभ्युज

नागरिकलाई स्वास्थ्य बीमा उपलब्ध गराउन बजेट अभाव, ४२ अर्ब माग

पोखरा। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नागरिकलाई स्वास्थ्य बीमा उपलब्ध गराउनका लागि बजेट अपुग भएको बताएका छन् ।

बीमा कार्यक्रम सञ्चालन गर्ने अस्पताल र सेवाग्राहीको सङ्ख्या तेब्बर भएकाले रकम थप गर्नुपर्ने उनले बताएका हुन् । पोखरामा आयोजित कार्यक्रममा उनले अहिलेकै मोडलमा स्वास्थ्य बीमा उपलब्ध गराउन सरकारसँग बजेट अभाव भएको बताएका हुन् ।

“सेवाग्राही र बीमा कार्यान्वयन गर्ने अस्पतालको सङ्ख्या तेब्बर हुने तर बजेट थप नगर्ने हो भने अहिलेकै मोडलअनुसार स्वास्थ्य बीमा सञ्चालनका लागि कठिन छ । अहिलेकै विधिअनुसार सञ्चालन गर्ने हो भने साढे ४२ अर्ब रकम आवश्यकता पर्छ,” मन्त्री पौडेलले भने ।

मन्त्री पौडेलले आफू बीमाविरोधी नभएको बताएका छन् । “स्वास्थ्य बीमा सुधारको लागि प्रस्ट दृष्टिकोण राख्ने मान्छे कसरी बीमा विरोधी हुनसक्छ,” उनले भने ।

स्वास्थ्य बीमा कार्यक्रमको सुधारमा आफू केन्द्रित भएको उनको भनाइ छ । स्वास्थ्य बीमा कार्यक्रम सुधारका लागि तीन मोडलमा बीमा लागू गर्ने तयारी भइरहेको उनले बताए । “तलब खानेले तलबबाट योगदान गर्ने, कर तिर्नेले करको आशिंक रकमबाट कोषमा योगदान गर्ने र दुवै नभएका नागरिकको प्रिमियम सरकारले तिर्नेगरी सुधार गर्न खोजिएको छ,” उनले भने ।

यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कार्ययोजनासमेत पेस गरिएको पौडेलले बताए । विभिन्न जिल्ला जाँदा बीमा कार्यान्वयन गरेका अस्पतालहरूले सेवा बापतको भुक्तानी प्राप्त नभएकाले सेवा दिन कठिन भइरहेको गुनासो गरेको उनको भनाइ छ । “म विभिन्न जिल्लामा जान्छु अस्पतालले सेवाको भुक्तानी नदिने अनि सेवा मात्रै दे भन्नु न्यायोचित नहुने भनिरहेका छन् त्यसैले कुनै पनि सेवाको प्रभावकारिताका लागि आर्थिक स्रोत सुनिश्चित गर्नु अपरिहार्य छ,” उनले भने।

सरकारले बीमा कोष खडा गरेर त्यसको  नियमित र सुरक्षित आम्दानी सुनिश्चित गर्ने योजना बनाएको पौडेलको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved