जनकपुरधाम । सिरहाकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको शङ्कास्पद मृत्यु प्रकरणमा पक्राउ परेका तीन जनामाथि पाँच दिनको म्याद थप गरिएको छ ।
उनीहरूमाथि थप अनुसन्धानका लागि सोमबार सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको हो ।
स्थानीय चन्देश्वर मण्डल, रामविनोद मण्डल र कमलेश दासमाथि थप अनुसन्धानका लागि अदालतबाट पहिलोपटक पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको सिरहा प्रहरीले जनाएको छ ।
यस घटनाको अनुसन्धानका लागि प्रहरीले आइतबार थप चार जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये एक जनाको संलग्नता नदेखिएपछि छाडिएको जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
बलात्कार घटना सार्वजनिक भएपछि गाउँमा पञ्चायती गरेर आर्थिक लेनदेन गरी मिलापत्र गराउने काममा यी तीन जनाको पनि संलग्नता प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए ।
तर, घटनाका मुख्य आरोपीहरू भने अझै फरार रहेका छन् ।
सामूहिक बलात्कारको शिकार बनेकी नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी रिङ्कुको शकास्पद मृत्यु भएको थियो ।
घटना सार्वजनिक भएपछि प्रहरीले यसबारे अनुस्धान गरिरहेको छ । बलात्कारमा संलग्न तीन र पञ्चायती गरेर घटना गाउँमै मिलाउन खोज्ने पाँच गरी आठ जनाविरुद्ध पीडित परिवारले कर्तव्य ज्यान, शरीर बन्धक, जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहनको पूरक जाहेरी दिएका छन् ।
Facebook Comment
Comment