चैनपुर । वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामिप्यता छ, उमेर साढे नौ दशक पार गरेकी तुलसीदेवी जोशीको । बझाङको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी ९६ वर्षीया तुलसीदेवी अहिले पनि बारीमै भेटिन्छिन् । यो उनको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो ।
‘घरभित्रै बसिरहन मन मान्दैन,’ उनले भनिन्, ‘बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ । त्यसपछि कुटो बोकेर गइहाल्छु ।’
थाहा भएदेखि कृषिमा जीवन समर्पित गरेकी तुलसीदेवी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा चिनिन्छिन् । ‘गाउँमा दलहन, धानबाली, तरकारी गाउँमा हुने सबै किसिमको तथा बीउ कतै नपाए गाउँले अझै म कहाँ आउँछन्,’ उनले भनिन् ।
तर यो उमेर बितिसक्दा पनि उनलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे ज्ञान थिएन । उनलाई गत शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले सबै कागजात तयार गरी उनको घरमै पुगेर नागरिकता प्रदान गरिन् ।
थलारा गाउँपालिका–७ घोडादाउनामा विसं १९८६ साल साउन ११ गते जन्मिएकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रजिअ जोशीले अनागरिक भएर जीवन बिताइरहेको अवस्थामा भेट भएको बताइन् । उनले तुलसीदेवीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्नेबित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको बताइन् ।
बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मिएकी तुलसीदेवीको विसं १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका–५ का पदमराज जोशीसँग विहे भएको थियो । विहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजले संसार छोडेपछि उनी एकल भएकी थिइन् ।
सदरमुकाम चैनपुरबाट चार घण्टाको दूरीमा पर्ने पिठातोला र त्यो ठाउँबाट देखिने भू–भाग नै तुलसीका लागि संसार भयो । ‘मेरा लागि त यही संसार हो,’ तुलसीदेवीले भनिन्, ‘माइतीगाउँ जाने बिप्रा डाँडा र छिमेकी जिल्ला बाजुरा जाने थामलेकबाहेक अन्त देखेको छैन । यही संसार आँखी झ्यालबाट हेरिरहन्छु । त्यो पनि पुरै घुमेको छैन ।’ –रासस
Facebook Comment
Comment