काठमाडौं । रुस-युक्रेन युद्ध सुरु भएको आज तीन वर्ष पूरा भएको छ ।
यस अवसरमा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले शान्तिको खातिर आफू जे पनि गर्न तयार रहेको बताएका छन् । यदि राजीनामा दिँदा शान्ति आउँछ वा युक्रेनलाई नाटोको सदस्यता मिल्छ भने आफू राजीनामा दिन तयार रहेको खुलाएका छन् ।
किभमा आयोजित पत्रकार सम्मेलनमा उनले ट्रम्प सधैँ नरहने, तर रुसबाट खतरा सधैँ रहने बताए ।
“ट्रम्प सत्तामा रहुञ्जेल पुटिनले हामीमाथि आक्रमण नगरे पनि हामीलाई वास्ता छैन । हामीलाई ट्रम्प र पुटिन गएपछि पनि टिक्ने शान्ति र ग्यारेन्टी चाहिन्छ ।” उनले भने ।
जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई सन्देश दिँदै भने, “हामी अमेरिकाबाट प्राप्त ५०० अर्ब डलरलाई ऋण मान्दैनौँ । म १०० अर्ब डलरलाई ऋण पनि मान्दिनँ । बाइडन र म सहमत भयौँ कि यसलाई सहयोगलाई ऋण भनिँदैन ।”
ट्रम्पले गत हप्ता जेलेन्स्कीलाई तानाशाह भनेका थिए । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्टमा जेलेन्स्कीलाई एक नाबालिग हास्य कलाकार र चुनाव नभएका तानाशाहको रूपमा वर्णन गरे । ट्रम्पले युक्रेनमा जेलेन्स्कीको अनुमोदन मूल्याङ्कन केवल ४ प्रतिशतमा झरेको पनि बताए ।
यसबारे जेलेन्स्कीले भनेका थिए कि ट्रम्प गलत जानकारीका साथ गलतफहमीमा बाँचिरहेका छन् ।
Facebook Comment
Comment