काठमाडौं । हमास-इजरायल युद्धविरामको पहिलो चरणमा अन्तिम ६ जना बन्धक शनिबार रिहा हुँदैछन् ।
१९ जनवरीमा हमास र इजरायलबीच युद्धविराम सम्झौता भएको थियो । तीन चरणमा लागु हुने यो युद्धविरामको पहिलो चरणमा रिहा हुने जीवित बन्धकमध्येका ६ जना रिहा हुँदैछन् ।
अन्तराष्ट्रिय समाचार संस्था सीएनएनकाअनुसार शनिबार रिहा हुने ६ जना पहिलो चरणमा रिहा हुनेमध्ये हमासको कब्जामा रहेका अन्तिम जीवित बन्धक हुन् ।
रिहा हुन लागेका ६ जनामध्ये एक जनालाई सन् २०१४ मा र अर्कोलाई सन् २०१५ मा हमासले बन्धक बनाएको थियो ।
अब एक हप्तासम्म हमासले बन्धकको शव फिर्ता गर्ने छ । हमासले बिहीबारदेखि शव फिर्ता गर्न थालेको छ । बिहीबार हमासले चार जनाको शव फिर्ता गरेको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हमासले अबको एक हप्तामा चार जना बन्धकको शव फिर्ता गर्नेछ ।
शनिबारको रिहा प्रक्रियापछि पनि हमाससँग ६३ जना बन्धक बाँकी छन् । यीमध्ये कम्तीमा पनि ३२ जना मरिसकेको इजरायली सरकारले बताएको छ ।
जोशीलाई सन् २०२३ नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल–शिफा अस्पतालको एउटा सीसीटीभी भिडिओमा देखिएको थियो । त्यसयता उनी कहाँ र कस्तो अवस्थामा छन भन्ने कसैलाई थाहा छैन ।
२० फेब्रुअरीमा एपी न्यूजमा प्रकाशित समाचारअनुसार हमासको बन्धनमा रहेका ६३ जना मध्ये पाँच जना गैर इजरायली हुन् । जसमा तीन जना थाई नागरिक, एक जना तान्जिनियाका र नेपालका विपिन जोशी छन् ।
इजरायली सरकारका अनुसार गैर इजरायली बन्धकमध्ये एक जना थाई र विपिन जोशी मात्र जीवित छन् । इजरायली पत्रिका टाइम्स अफ इजरायलले पनि जोशी जीवितै रहेको लेखेको छ ।
जोशीलाई सन् २०२३ नोभेम्बरमा सार्वजनिक भएको उत्तरी गाजास्थित अल–शिफा अस्पतालको एउटा सीसीटीभी भिडिओमा देखिएको थियो । त्यसयता उनी कहाँ र कस्तो अवस्थामा छन् भन्ने कसैलाई थाहा छैन ।
हमास इजरायलबीच भएको युद्धविराम सम्झौताअनुसार विपिन दोस्रो चरणमा रिहा हुने सम्भावना छ ।
यस्तो छ इजरायल र हमासको युद्धविराम सम्झौता
७ अक्टोबर २०२३ मा इजरायलमा हमला गरेको हमासले २५१ जनालाई बन्धक बनाएको थियो । उनीहरूमध्ये १५७ जना रिहा भइसकेका छन् । सन् २०२३ को २४ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म भएको युद्धविरामका क्रममा हमासले १०९ जना बन्धक रिहा गरेको थियो ।
पहिलो चरण (४२ दिन)
– हमासले ३३ बन्धक रिहा गर्नेछ । रिहा हुनेमा महिला, महिला सैनिक, ५० वर्ष माथिका बन्धक हुनेछन् ।
– हमासले रिहा गरेका एक बन्धकको बदलामा इजरायलले ३० जना प्यालेस्टिनी रिहा गर्नेछ । हमासले रिहा गर्ने एक महिला सैनिकको बदलामा ५० जना प्यालेस्टिनी रिहा गर्नेछ ।
– युद्ध रोकिनेछ । इजरायली सैनिक गाजा क्षेत्रका बस्तीबाट पछाडि सरेर गाजाको किनारामा पुग्नेछ ।
– विस्थापित भएका प्यालेस्टिनीहरू घर फर्किन पाउनेछन् । गाजा क्षेत्रमा थप सहायता सामग्री जान दिइनेछ ।
दोस्रो चरण (४२ दिन)
– दिगो शान्तिको घोषणा गरिनेछ ।
– हमासले बाँकी रहेका पुरुष बन्धक (सैनिक र नागरिक) रिहा गर्नेछ । यसको बदलामा इजरायलले कति मान्छे रिहा गर्ने भनेर तय भइसकेको छैन । गाजा क्षेत्रबाट इजरायली सैनिक पूर्णरूपमा बाहिरिनेछ ।
तेस्रो चरण
– हमासको नियन्त्रणमा रहेका बन्धकको शव र इजरायली कब्जामा रहेको प्यालेस्टिनीको शव फिर्ता गरिनेछ ।
– गाजा पुनःनिर्माण योजना कार्यान्वयन गरिनेछ ।
– गाजा क्षेत्रमा भित्रिन र बाहिरिन बोर्डर क्रसिङ खुल्ला गरिनेछ ।
Facebook Comment
Comment