पोखरामा बेलुन विस्फोट प्रकरण : निर्धालाई अभद्रको कसुर

पोखरामा बेलुन विस्फोट प्रकरण : निर्धालाई अभद्रको कसुर

काठमाडौं । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा हाइड्रोजन भरिएको बेलुनमा आगलागी हुँदा उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भए ।

आयोजकको असावधानीका कारण बेलुन आगोसँगको सम्पर्कमा आउँदा उक्त घटना भएको थियो । तर, कास्की प्रहरीले बेलुनमा हाइड्रोजन भर्ने व्यक्ति कमलेश कुमारलाई पक्राउ गर्‍यो ।

उनीविरूद्ध अभद्र कसुरमा मुद्दा अघि बढाउने प्रहरीको तयारी छ । कुनै कसुर नगरेका व्यक्तिलाई अभद्र कसुरमा मुद्दा अघि बढाउने प्रहरीको कदम निर्धामाथिको ज्यादती भएको कानुन जानकारहरू बताउँछन् ।

वडा प्रहरी कार्यालय बैदामले कमलेशलाई मङ्गलबार पक्राउ गरेको थियो । वडा प्रहरी कार्यालयले कमलेशलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा हस्तान्तरण गर्‍यो । यो घटना हुनुमा कमलेशको कुनै पनि दोष छैन । उनले बेलुनमा हाइड्रोजन भरेर आयोजकलाई जिम्मा लगाएका थिए । तर, घटनापछि उनी कास्की प्रहरीको हिरासतमा छन् ।

उनलाई कुन कसुरअन्तर्गत कुन कानुनमा कारबाही गरिएको हो भनेर हामीले वडा प्रहरी कार्यालय बैदामका प्रमुखलाई सम्पर्क गर्‍यौँ । उनले आफूहरूले जिल्ला प्रहरी कार्यालयमा हस्तान्तरण गरेको हुनाले उतै सोध्न आग्रह गरे ।

तर जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामबाबु ओलियालाई सम्पर्क गर्दा थाहा भयो कमलेशलाई कुन कसुरमा कारबाही अघि बढाउने भन्ने सवालमा प्रहरी आफैँ अन्यौलमा रहेछ । ‘उनीमाथि अनुसन्धान भइरहेको छ । हामी छलफलमै छौँ, ।अहिले जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको छ,’ उनले भने ।

स्पष्ट सूचना दिन ओलियाले आलटाल गरेपछि हामीले गण्डकी  प्रदेश प्रहरी कार्यालयका प्रवक्ता महेन्द्र खड्कालाई सम्पर्क गर्‍यौँ । उनले अभद्र कसुरमा कमलेशमाथि अनुसन्धान भइरहेको जानकारी दिए । ‘जिल्ला प्रहरीको हिरासतमा रहेका ती व्यक्तिमाथि अभद्र कसुरमा सोधपुछ भइरहेको छ,’ उनले भने ।

यद्यपि, खड्काले प्रहरीको हिरासतमा रहेको व्यक्तिको अपराधको कुनै मनसाय नदेखिएको बताएका छन् । ‘अब झिलझिले पनि बालिरहेको हो । बेलुन पनि उडाइरहेको हो । घटना त भवितव्य हो, नियोजित हैन । कसुरको मनसाय देखिँदैन,’ प्रवक्ता खड्काले भने ।

कुनै कसुर नगरेका कमलेशलाई हिरासतमा राख्न प्रहरीलाई समस्या छ । आफ्नो समस्या समाधानका लागि प्रहरीले कमलेशविरूद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप गर्ने तयारी गरेको छ ।

निर्धालाई अभद्रको कसुर

फौजदारी कानुन विज्ञहरूले निर्धा कमलेशमाथि मुद्दा चलाएर प्रहरीले कानुनको दुरूपयोग गरेको धारणा राखेका छन् ।

अधिवक्ता सुभाष आचार्य कमलेशमाथि अभद्र व्यवहारमा मुद्दा चलाउने प्रहरीको तयारी शक्तिशालीहरूले निर्धामाथि गर्ने ज्यादतीको नमूना रहेको बताउँछन् । सार्वजनिक स्थलमा कुनै व्यक्तिले अर्को व्यक्तिको इज्जत प्रतिष्ठामा आँच पुर्‍याउने काम गरे मात्रै त्यसलाई अभद्र व्यवहार मानिने उनी बताउँछन् । पोखराको घटनामा अभद्र व्यवहार नभएको उनको मत छ । ‘यहाँ बेलुनमा हाइड्रोजन भर्नेले कसरी अभद्र व्यवहार गर्‍यो ?,’ उनको प्रश्न छ ।

सामान्य विषयमा समेत गम्भीर कानुनी कारबाहीलाई फौजदारी कानुनको सिद्धान्तले अधिक आपराधिकरण मान्ने उनको भनाइ छ । यस्ता प्रचलनले  निर्धाहरूविरूद्ध राज्यले जुनसुकै बेला अभद्र व्यवहारको कसुर लगाउने परम्परा बढ्ने उनको चिन्ता छ । ‘नभएको कानुन र नभएको दफा लगाएर कुनै पनि व्यक्तिलाई जबरजस्ती अपराधी बनाउन खोज्नु फौजदारी कानुनको गम्भीर उल्लङ्घन हो,’ उनले भने ।

अर्का कानुन व्यवासायी स्वागत नेपाल बेलुनमा हाइड्रोजन भर्ने व्यक्तिलाई पक्राउ गर्नु कानुनको गम्भीर दुरूपयोग रहेको तर्क गर्छन् । प्रहरीले बेलुनमा हाइड्रोजन भर्नेलाई नभएर आयोजकलाई पक्राउ गर्नुपर्ने उनको भनाइ  छ । ‘पक्राउ गर्दा आयोजकलाई पक्राउ गर्नुपर्छ, त्यहाँका नेतृत्वकर्तालाई पक्रनुपर्छ,’ नेपालले भन्छन् ।

नेपालले पछिल्लो समय प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरको गम्भीर दुरुपयोग गरिरहेको बताउँछन् । ठूला कसुरलाई साना बनाएर पेस गर्न र साना घटनालाई ठूलो बनाएर मुद्दा चलाउन प्रहरीले अभद्र व्यवहारसम्बन्धी कानुनी प्रावधानको दुरूपयोग गरिरहेको उनको भनाइ छ ।

‘विभिन्न अध्ययनहरूले प्रहरीले यो प्रावधानको दुरूयपयोग गरिरहेको देखाएको छ । पोखराको प्रकरणमा पनि दुरुपयोग गरेको देखियो,’ नेपालले भने ।

पूर्वडीआईजी हेमन्त मल्ल पनि प्रहरीले कानुनको दुरूपयोग गर्न नहुने मत राख्छन् । ‘यो घटनामा आपराधिक नियत देखिँदैन । तर, घटनाले नयाँ बहस भने सिर्जना गरेको छ । प्रहरीले सुक्ष्म अनुसन्धान त गर्नुपर्छ नै । कानुनको दुरूपयोग भने गर्नुहुँदैन,’ उनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved