च्याम्पियन्स ट्रफी

तीन दशकपछि आईसीसीको प्रतियोगिता आयोजना गर्दै पाकिस्तान, सुरक्षामा उच्च सतर्कता

नेपालभ्युज

तीन दशकपछि आईसीसीको प्रतियोगिता आयोजना गर्दै पाकिस्तान, सुरक्षामा उच्च सतर्कता

काठमाडौं मार्च १७ सन् १९९६ मा श्रीलङ्काली कप्तान अर्जुना रणतुङ्गा क्रिजमा थिए । उनीविरुद्ध बलिङमा थिए अष्ट्रेलियाका तेज बलर ग्लेन म्याकग्राथ । निकै धैर्य र चतुर्‍याइँपूर्वक रणतुङ्गाले म्याकग्राथको बललाई थर्डम्यानतर्फ निर्देशित गर्दा श्रीलङ्काले एकदिवसीय क्रिकेट विश्वकपको उपाधि उचालेको थियो ।

तीन विकेटको क्षतिमा श्रीलङ्काले २१४ रनको लक्ष्य भेट्टाएसँगै लाहोरस्थित गद्दाफी रङ्गशालामा ३० हजारभन्दा धेरै दर्शकले ताली बजाएका थिए । तीमध्ये अधिकांश पाकिस्तानी थिए ।

पाकिस्तानले क्रिकेटको सबैभन्दा ठूलो खेल खेलाएको त्यो नै अन्तिम थियो । तीन दशकपछि पाकिस्तानमा फेरि क्रिकेटको ठूलो प्रतियोगिता हुन लागेको छ । १९ फेब्रुअरीदेखि पाकिस्तानमा आईसीसी च्याम्पियन्स ट्रफी आयोजना हुँदैछ । यस प्रतियोगितामा कुल १५ खेल हुनेछन् ।

प्रतियोगितामा आठ राष्ट्र सहभागी हुँदैछन् । आईसीसीको सूचीअनुसार वरियतामा माथिल्लो आठ स्थानमा रहेका अष्ट्रेलिया, अफगानिस्तान, बङ्गलादेश, इङ्ल्यान्ड, भारत, न्युजिल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिकाले खेल्नेछन् ।

भारतले सन् २००८ को मुम्बई हमलापछिको सरकारी नीतिका कारण पाकिस्तानमा खेल नखेल्ने घोषणा गरिसकेको थियो । भारतका खेल दुबईमा हुनेछन् भने १५ मध्ये ११ खेल पाकिस्तानमै हुनेछन् ।

पाकिस्तानी क्रिकेट बोर्डले यसलाई महत्त्वपूर्ण उपलब्धि मानेको छ । ‘यो खेल पाकिस्तानमा गराउनु निकै चुनौतीपूर्ण थियो । त्यसका लागि आईसीसीलगायत अन्य पक्षलाई मनाउन निकै समय लाग्यो,’ पाकिस्तानी क्रिकेट बोर्डका एक सदस्यले भनेका छन् ।

यसलाई निकै महत्वपूर्ण उपलब्धि मान्नेमा लाहोर विश्वविद्यालयका प्राध्यापक अलि खान पनि छन् । ‘आईसीसीका विभिन्न खेल छिमेकी राष्ट्रहरू भारत, श्रीलङ्का र बङ्गलादेशले आयोजना गर्दा पाकिस्तानले निकै समयपछि बल्ल अवसर पायो, यो निकै महत्त्वपूर्ण छ,’ उनले भनेका छन् ।

‘क्रिकेट इन पाकिस्तान : नेसन आइडेन्टिटी एन्ड पोलिटिक्स’का लेखक र हेका खान पाकिस्तानको गर्विलो खेल इतिहास रहेको उल्लेख गर्छन् । ९० को दशकमा पाकिस्तानले स्क्वास, हकी, स्नुकरजस्ता प्रतियोगिता आयोजना गरेको उल्लेख गर्दै उनले नयाँ सहस्राब्दीपछिको स्थितिमा परिवर्तन आएको बताए ।

अमेरिकामा भएको हमला र त्यसपछि अफगानिस्तानमा गरिएको आक्रमणपछि बढ्दो हिंसाले पाकिस्तानको गर्विलो खेल इतिहासलाई प्रभावित बनाएको उनको मत छ ।

सेप्टेम्बर २००१ मा न्युजिल्यान्डको टोली खेलका लागि पाकिस्तान जाँदै थियो । तर, खेलाडी बस्ने इलाकानजिकै बम विष्फोट भएसँगै पाकिस्तानमा आयोजना हुन लागेको टेस्ट श्रृङ्खला स्थगित भयो । अप्रिल २००२ मा टेस्ट श्रृङ्खलाका लागि न्युजिल्यान्ड पाकिस्तान पुगेको थियो । यद्यपि, अष्ट्रेलियाले भने पाकिस्तान आउन अस्वीकार गर्यो । उसका खेल श्रीलङ्का र यूएईमा भए ।

सन् २००३ मा भने दक्षिण अफ्रिका, बङ्गलादेश र भारतका टोली पाकिस्तान पुगे । सन् २००४ मा १५ वर्षको अन्तरपछि भारत पनि पाकिस्तान पुगेको थियो । त्यो पाकिस्तानमा हिंसा बढ्दै गएको समय थियो । यसको प्रभाव खेलमा पनि पर्‍यो । सन् २००८ को आईसीसी च्याम्पियन्स ट्रफी पाकिस्तानमा आयोजना गर्ने भनिएको थियो । तर, सुरक्षाको कारण देखाउँदै अन्य राष्ट्रका टोली त्यहाँ जान नमानेसँगै प्रतियोगिता आयोजनाको जिम्मा दक्षिण अफ्रिकालाइ सुम्पिनुपरेको थियो ।

सन् २००९ मा भने श्रीलङ्काली खेलाडीलाई लक्षित गर्दै आक्रमण नै भयो । लाहोरस्थित गद्दाफी रङ्गशालामा जाने क्रममा हमला हुँदा ६ प्रहरी र दुई पाकिस्तानी नागरिक मारिएका थिए । खेलाडी तथा अन्य पदाधिकारीलाई भने सामान्य चोटपटक मात्रै लागेको थियो ।

‘दुर्भाग्यवश अन्तर्राष्ट्रिय मञ्चमा हामी अहिले कमजोर छौँ । धेरै कम नेताले मात्रै पाकिस्तान भ्रमण गरेका छन् । यस्तो बेलामा आईसीसी च्याम्पियन्स ट्रफी आयोजना गर्नु हाम्रा लागि निकै गौरवको विषय हो,’ खान भन्छन् ।

भारतीय क्रिक्रेट विश्लेषक तथा लेखक शारदा उर्गा वर्षौँको सङ्घर्षबाट पाकिस्तानले यो उपलब्धि प्राप्त गरेको बताउँछिन् । यसले निकै पृथक अर्थ राख्ने उनको मत छ । ‘खेल र क्रिक्रेट एकताका सुत्र हुन् । जब मानिस त्यहाँ पुग्न्छन्, तब पाकिस्तानबारे उनीहरूको धारणा बदलिने छ,’ उनले अल जजिरासँग भनेकी छन् ।

पाकिस्तानी क्रिकेट बोर्डले यो अवसरलाई आर्थिक र गतिविधिका रुपमा मात्रै हेरेको छैन । उसले यसलाई फ्यानको भावनासँग पनि जोडेको छ । खेल आयोजना गरेबापत पाकिस्तानले ६० लाख अमेरिकी डलर पाउनेछ भने टिकट तथा पर्यटनबाट पनि आम्दानी गर्नेछ ।

‘कुनैपनि राष्ट्रका लागि आईसीसीको खेल आयोजना गर्नु निकै ठूलो कुरा हो । विश्वको ध्यान खिँच्ने प्रतियोगिताले आर्थिक सँगसँगै सामाजिक गतिविधिलाई पनि नयाँ गति दिनेछ । बहुपक्षीय खेलले मुलुकलाई झनै नयाँ ऊर्जा थप्नेछ,’ बोर्डका पदाधिकारी भन्छन् ।

सुरक्षा चासो वा भूराजनीतिक तनाव ?

पाकिस्तानले आईसीसी च्याम्पियन्स ट्रफी आयोजनाको अधिकार सन् २०२१ नोभेम्बरमा पाएको थियो । जसै पाकिस्तानले यो अधिकार पायो त्यो बेलादेखि हिंसा झनै उत्कर्षमा पुग्यो । गतवर्ष मात्रै पाकिस्तानमा भएको हिंसामा दुई हजार ५०० मानिस मारिएका थिए । धेरै घटना बलुचिस्तान र खैबर पाख्तुनख्वा प्रान्तमा भएका थिए । आईसीसी च्याम्पियन्स ट्रफीका खेल भने लाहोर, कराँची र रावलपिण्डीमा हुनेछन् । उक्त इलाका सुरक्षित रहको प्रमाणीकरण आईसीसीकै सुरक्षा टोलीले गरिसकेको छ ।

पाकिस्तानी क्रिकेट बोर्डका अधिकारीहरूले सुरक्षाको कुनै चिन्ता लिन नपर्ने जिकिर गरेका छन् । विश्वका उत्कृष्ट खेलाडी समावेश गर्दै पाकिस्तान सुपर लिगसमेत भइसकेकाले सुरक्षाको चिन्ता लिन नपर्ने उनीहरूको मत छ ।

‘विगतमा सुरक्षाको चिन्ता थियो अहिले त्यस्तो अवस्था छैन । खेल हुने मुख्य स्थानको सुरक्षाको अनुगमन आईसीसीबाटै भइसकेको छ,’ पाकिस्तानी क्रिकेट बोर्डले भनेको छ ।

सन् २००९ को हमलापछि पाकिस्तानको होम म्याच पनि न्युट्रल भेन्यूमा भएका थिए । कहिले इङ्ल्यान्ड त कहिले यूएईमा पाकिस्तानले खेल्दै आएको थियो । पाकिस्तानी सेनाले सशस्त्र समूहविरुद्ध कडा कारबाही थालेसँगै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता फर्किने वातावरण बनेको छ ।

पाकिस्तानी क्रिकेट बोर्डका पूर्वअध्यक्ष इशान मनीले सुरक्षा निकै सुधार भएको बताएका छन् । ‘मैले बोर्ड छोड्दाको अवस्थामा भ्रमण टोलीका लागि सुरक्षाको कुनै चिन्ता थिएन । उनीहरूलाई निकै सुरक्षित महसुस गराइएको थियो । अहिले पनि सुरक्षामा निकै सुधार छ,’ उनले भनेका छन् ।

टेस्ट क्रिकेटमा हालै मान्यता पाएका दुई मुलुक आइरल्यान्ड र अफगानिस्तान पाकिस्तान पुगेका छैनन् । सन् २०१९ पछि भारतबाहेक अन्य राष्ट्रले पाकिस्तानमा खेलेका छन् । त्यसमा इङ्ल्यान्ड र अष्ट्रेलिया पनि छन् ।

श्रीलङ्काली लेखक तथा क्रिकेट विश्लेषक एन्ड्रु फिडेल फनार्डोले प्रतियोगितामा भूराजनीतिक तनाव बढी देखिएको बताए । ‘हालैका वर्षमा धेरै टोलीले पाकिस्तानमा खेलिसकेका छन् । त्यसैले त्यहाँ सुरक्षाको कुनै चिन्ता छैन । हाल सतहमा आएका विषय भूराजनीतिसँग जोडिएका छन्,’ उनले भनेका छन् ।

पाकिस्तानी भूमिमा नटेक्ने भारतीय टोलीको कदमलाई फर्नाडोले भूराजनीतिसँग जोडेका छन् । सन् २००८ को मुम्बई घटनापछि भारतले पाकिस्तानसँग द्विपक्षीय श्रृङ्खला खेल्न अस्वीकार गर्दै आएको थियो ।

सन् २००९ देखि इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाकिस्तानी खेलाडीलाई प्रतिबन्धसमेत लगाइएको थियो । चार दिनसम्म मुम्बईमा भएको हमलामा १७५ जनाले ज्यान गुमाएका थिए । 

क्रिकेटमा बदलिएको अवस्था

सन् १९९६ को विश्वकपअघि कोलम्बोमा बम विस्फोट भएको थियो । प्रतियोगिताको दुई हप्ताअघिको घटनामा ९१ जनाको ज्यान गएको थियो । अष्ट्रेलिया र वेस्ट इन्डिजले सुरक्षा कारण देखाउँदै श्रीलङ्कामा खेल्न मानेका थिएनन् । त्यसको प्रत्युत्तरमा पाकिस्तान र भारतले त्यहाँ टोली पठाउँदै खेल खेलाए । उनीहरूले श्रीलङ्का सुरक्षित रहेको सन्देश दिन खोजेका थिए ।

मणि त्यसबेला विश्वकप आयोजक कमिटीका सदस्य थिए । एसियाली क्रिकेट समूह एकीकृत रहेको सन्देश त्यसबेला प्रवाह भएको उनी स्मरण गर्छन् । ‘त्यसबेला प्रतियोगितामा आईसीसीको कम भूमिका हुन्थ्यो भने संयुक्त व्यवस्थापन समितिले सबै काम हेर्थ्यो । हाम्रो प्राथामिकता क्रिकेटको विकास भएकाले फरक ढङ्गबाट सोच्थ्यौँ,’ मणिले भने ।

भारतीय क्रिकेट विश्लेषक उर्गा ती दिन अहिले नरहेको बताउँछिन् । ‘एसियाली क्रिकेट संस्थाहरूको ऐक्यवद्धता अहिले सपनाजस्तो छ । पश्चिमा ब्लकले चुनौती दिँदा मात्रै बीसीसीआईले एसियाली बोर्डहरूको साथ खोज्छ, अरुबेला उसले कुनै वास्ता गर्दैन,’ उर्गा भन्छिन् ।

भारतीय क्रिकेट बोर्डको आर्थिक हैसियत र राजनीतिक प्रभावका कारण खेलमा राजनीति घुसेको प्राध्यापक खान बताउँछन् । ‘भारतीय क्रिकेट बोर्डको आर्थिक हैसियत निकै माथि छ यो एउटा पाटो भयो । तर, मोदी नेतृत्वको सरकारले पाकिस्तानलाई हरेक क्षेत्रमा एक्ल्याउने नीति लिएकाले त्यसको प्रभाव क्रिकेटमा पनि देखिएको हो । आफूलाई बेवास्ता गर्ने र मन नपराउने राष्ट्रसँग पनि सहकार्य गर्नुपर्ने बाध्यतामा पाकिस्तान छ,’ खान भन्छन् ।

के पाकिस्तानका लागि यो सबैभन्दा ठूलो मञ्च हो ?

गत वर्षसम्म पनि पाकिस्तानमा खेल हुने वा नहुने भन्ने अन्योल थियो । पाकिस्तान नजाने भारतीय टोलीको अडानले यो द्विविधा निर्माण गरेको थियो । यसले प्रतियोगिता घोषणासँगै टिकट र अन्य व्यवस्थापनमा ढिलाइ भयो । गद्दाफी रङ्गशालाको स्तरोन्नतिका कारण पनि अन्योलता बढेको थियो । पाकिस्तानले ४३ लाख डलर खर्चेर सबै रङ्गशालाको मर्मत–सम्भार सकेको छ ।

आईसीसीले समयमै निर्णय नदिँदा पाकिस्तानी क्रिकेट बोर्ड अन्योलतामा बसेको मणिले बताए । ‘अन्तिम समयमै पाकिस्तानमा प्रतियोगिताको निर्णय गर्नुथियो भने अघि नै निर्णय गर्दा के बिग्रिन्थ्यो । बीसीसीआईलाई आईसीसीले निर्देशन दिनुपर्नेमा उसले विलम्ब गर्यो । यो आईसीसीको असक्षमता हो,’ मणिले भने ।

आईसीसीको विलम्बकाबीच पाकिस्तानी क्रिकेट बोर्डले पूर्वाधारमा गरेको सुधारको प्रशंसा गर्नुपर्ने प्राध्यापक खानको मत छ । ‘बोर्डका अध्यक्ष मोसभिकले रफ्तारमा गरेका सुधार प्रसंशायोग्य छ । अब टिकट वितरणसहित अन्य पाटोको व्यवस्थापनमा लाग्नुपर्छ,’ उनले भने ।

प्रतियोगिताका लागि एक साताभन्दा कम समय रहँदा पाकिस्तानले पिचभित्र र बाहिर दुवैतर्फ उच्च सतर्कता अपनाउनुपर्ने अवस्था छ ।

‘प्रतियोगिता अवधिभर पाकिस्तान सतर्क रहनुपर्ने अवस्था छ । पाकिस्तानी खेलाडीले समेत आफूलाई प्रमाणित गर्नुपर्ने छ ।’ खान भन्छन् ।

-अल जजिराको सहयोगमा ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved