काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि बहानामा पूर्वाधार विकासमा अवरोध नगर्न आग्रह गरेका छन् ।
उनले विकासलाई राजनीति र धर्म भन्दामाथि राखेर हेर्न राजनीतिक दल तथा आम नागरिकलाई आग्रह समेत गरे ।
सरकारले आर्थिक विकासको लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने र लगानीमैत्री वातावरण बनाउने भनिरहेको सन्दर्भमा पछिल्लो समय पूर्वाधारको विकास रोक्न विभिन्न तहबाट भइरहेका गतिविधिहरु खेदजनक रहेको अध्यक्ष ढकालले बताए ।
काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि शुरु भएको ‘क्यान इन्फोटेकको ३०औं संस्करणको उद्घाटनको अवसरमा बोल्दै अध्यक्ष ढकालले विकास विरोधी गतिविधिले नेपालमा लगानी निरुत्साहित हुने धारणा राखे ।
पाथीभरा केबलकार परियोजनाको बारेमा पछिल्ला समय भइरहेका विरोध तथा टिप्पणी प्रति लक्षित गर्दै उनले भने, “एकातिर हामीले विकासको लागि स्वदेशी तथा विदेशी लगानी भित्र्याउने कुरा गरिरहेका छौं, अर्कोतर्फ पूर्वाधार विकासमा भइरहेका लगानीलाई विभिन्न बहानामा रोक्ने र नकारात्मक टिप्पणी गर्ने गरेका छौं । यसबाट लगानीको वातावारण मात्रै बिग्रिने होईन, स्वदेशमै रोजगारी सिर्जना गर्ने र रोजगारकिा लागि विदेशिएका युवाहरुलाई नेपालमै रोक्ने अभियानलाई समेत अवरोध गरेका छौं ।”
आफूले नेपालमा रोजगारी सिर्जना होस् भनेर काम गरिरहेको अवस्थामा विभिन्न नाममा विरोध हुनु दु:खद् भएको बताउँदै उनले पाथीभरा केबलकार परियोजनाले कुनै धर्म संस्कृतिलाई असर गर्ने भन्दा पनि त्यसको प्रवर्द्धनमा सघाउ पुर्याउने, रोजगारी सिर्जना गर्ने तथा स्थानीय कला संस्कृतिको संरक्षणमा सघाउ पुर्याउने बताए ।
Facebook Comment
Comment