संसद्का दुवै सदनबाट आज ६ वटा अध्यादेश पारित गर्ने कार्यसूची

नेपालभ्युज

संसद्का दुवै सदनबाट आज ६ वटा अध्यादेश पारित गर्ने कार्यसूची
फाइल तस्वीर ।

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज (बिहीबार) नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभा दिउँसो सवा १ बजे बस्ने कार्यतालिका छ ।

दुवै बैठकमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । स्वीकृतिका लागि संसदमा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने दुवै सदनले कार्यसूची राखेका छन् ।

संसदको हिउँदे अधिवेशनको पहिलो दिन माघ १८ गते सहकारीसम्बन्धी, सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी र भूमिसम्बन्धी अध्यादेश बैठकमा पेस गरिएको थियो ।

सरकारले ६ वटै अध्यादेश संघीय संसद् दुवै सदनबाट पारित हुने विश्वास लिएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए ।

यद्यपि प्रतिनिधिसभामा सत्तारुढ नेपाली काङ्ग्रेस र एमालेको मात्रै पनि बहुमत पुग्छ । राष्ट्रियसभामा भने बहुमत पुग्न उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल निर्णायक छ । जसपा नेपालले अध्यादेश स्वीकार गर्ने वा अस्वीकार गर्ने विषयमा कुनै निर्णय गरेको छैन । पार्टीलेले आज मात्रै यसबारे निर्णय गर्ने प्रवक्ता मनीष सुमनले जानकारी दिए । बुधबारसम्म भूमिसम्बन्धी अध्यादेशमा जसपा नेपालको असहमति रहेको बताइएको छ ।

यस्तै प्रतिनिधिसभामा आज प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम छ । सरकारका तर्फबाट भने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले केही धारणा राख्नेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved