राजस्व चुहावट नियन्त्रणमा महासङ्घले गर्‍यो सहकार्यको आह्वान

नेपालभ्युज

राजस्व चुहावट नियन्त्रणमा महासङ्घले गर्‍यो सहकार्यको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र प्रसाद ढकालले मुलुकको आर्थिक विकास र सञ्चालनको आधार राजस्व क्षमतामा निर्भर रहने बताएका छन्।

महासङ्घ  सचिवालयमा आयोजित “राजस्व चुहावट नियन्त्रण र भिसिटिएस सम्बन्धि” अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ढकालले बलियो अर्थतन्त्र निर्माण गर्न राजस्व चुहावट नियन्त्रणमा सहकार्यको लागि आह्वान गरेका हुन् ।

ढकालले अपेक्षित राजस्व सङ्कलनका लागि उद्योग व्यवसायमैत्री वातावरण आवश्यक रहेको बताउँदै सहकार्यको आह्वान गरेका हुन् । उनले वैध व्यवसाय गर्नेहरु पनि नियमनकारी निकायको अनुगमनको नाममा अनावश्यक झमेलामा पर्ने गरेको गुनासो व्यवसायीहरुबाट आउने गरेको उल्लेख गरे। यसले व्यवसायीको समय र आर्थिक भार बढ्ने तथा प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने उनको भनाइ थियो।

अध्यक्ष ढकालले अर्थतन्त्र चलायमान भई बजारमा माग वृद्धि भएमा मात्र आर्थिक गतिविधि बढ्ने, उत्पादन तथा व्यवसायमा सुधार आउने र राजस्व संकलनमा वृद्धि हुने बताए। उनले हालै जारी अध्यादेशबाट राजस्व चुहावट ऐन २०५२ का केही प्रावधानहरुमा संशोधन भएको र यसले व्यवसायिक वातावरण निर्माणमा थप सहयोग पुग्ने विश्वास निजी क्षेत्रले लिएको जानकारी दिए।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले सरकार र निजी क्षेत्र दुवैको उद्देश्य वैध व्यापारलाई प्रोत्साहन गरी अवैध र अनौपचारिक व्यापारलाई नियन्त्रण गर्ने भएकोले सहकार्यबाट मात्रै त्यो कार्य सम्भव रहेको बताए। विभागको उद्देश्य कसैलाई दुःख दिने नभई नियमन र सहजीकरण भएको उल्लेख गर्दै उनले विद्यमान नीति नियमका बारेमा व्यवसायीहरुमा अन्यौल भए सहजीकरण गर्न आफूहरु तयार रहेको बताए।

कार्यक्रममा व्यवसायीहरूले सार्वजनिक सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन गुणस्तरीय प्रविधिको प्रयोगलाई थप व्यवस्थित, झन्झटरहित र युजरमैत्री बनाउनुपर्नेमा जोड दिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved