काठमाडौं । पहिलो संस्करणको सभापति कप फुटबल प्रतियोगिताको फाइनल खेल आज (बिहीबार) हुँदैछ ।
नेपाली काङ्ग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा भइरहेको प्रतियोगिताको उपाधि डिन्तका लागि आज सङ्कटा क्लब र आयोजक बागमती भिड्दैछन् ।
खेल साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ ।
माघ १० गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको थियो । पहिलो संस्करणकोयस प्रतियोतिाको उपाधि विजेताले २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ नगद पाउने छन् । यो नेपाली नकआउट फुटबलको हाल सम्मकै सर्वाधिक पुरस्कार राशि हो ।
यस्तै प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार रुपैयाँ प्रदान गरिने महाधिवेशन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतले जानकारी दिए ।
बुधवार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताउँदै उपाधि जित्ने दाबी गरेका थिए ।
नकआउट प्रतियोगिताको सेमिफाइनलमा ‘ए’ डिभिजन क्लब सङ्कटाले मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८–७ गोल र बागमतीले एनआरटीलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए ।
विजेता र उपविजेतालाई काङ्ग्रेस सभापति शेरबहादुर देउवाले पुरस्कार वितरण गर्ने कार्यक्रम छ । फाइनलअघि झाँकी पनि प्रस्तुत गरिने तयारी गरिएको छ ।
Facebook Comment
Comment