बन्धकका परिवारले निकालेको सूचीको ५८औं नम्बरमा विपिनको नाम

नेपालभ्युज

बन्धकका परिवारले निकालेको सूचीको ५८औं नम्बरमा विपिनको नाम

काठमाडौं । इजरायल–हमास युद्धविराम भएसँगै दुवै तर्फका बन्धक रिहाइको प्रक्रिया चलिरहेको छ । हालसम्म प्यालेस्टिनी सशस्त्र संगठन हमासले बन्धक बनाएका १५७ जना रिहा भइसकेका छन् ।

यद्यपि नेपाली युवा विपिन जोशी भने हालसम्म रिहा भएका छैनन् । उनको रिहाइका लागि सरकारले पहल गरिरहेको छ । तर उनको रिहाइबारे हालसम्म कुनै संकेत मिलेको छैन ।

यसैबीच रिहाइको माग गर्दै बन्धकका परिवारले सार्वजनिक गरेको ९७ जनाको सूचीको ५८औं नम्बरमा नेपाली युवा विपिन जोशीको नाम पनि रहेको पाइएको छ ।

सन् २०२३ को अक्टोबर ७ मा इजरायलमा हमला गरेको हमासले २५१ जनालाई बन्धक बनाएको थियो । उनीहरूमध्ये १५७ जना रिहा भइसकेका हुन् । सट्टामा इजरायलले २०० प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।

सन् २०२३ को २४ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म भएको युद्धविरामका क्रममा हमासले १०९ जना बन्धक रिहा गरेको थियो ।

जसमध्ये आठजना बन्धकको इजरायली सेनाले उद्धार गरेको थियो । हमासको नियन्त्रणमा रहेकामध्ये ३७ जना बन्धक मृत फेला परिसकेका छन् । इजरायली सेनाको आक्रमणमा परेर ती बन्धकको मृत्यु भएको जनाइएको छ । अहिले हमासको नियन्त्रणमा ९४ जना रहेको बताइएको छ ।

इजरायल सरकारका अनुसार यी ९४ जनामध्ये ३४ जनाको मृत्यु भइसकेको छ । ६० जनामात्र जीवितै हमासको नियन्त्रणमा छन् । हमासले मृतकको शरीर पनि कब्जामा राखेको छ ।

यसैबीच हमासले उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने सट्टामा ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ ।

इजरायल र हमासबीच माघ २ गते युद्धविराम सम्झौता भएको थियो । लागू भने केही दिनपछि मात्र भएको थियो ।

इजरायल–हमास सम्झौताका बुँदाहरू :

पहिलो चरण (४२ दिन)

– हमासले ३३ बन्धक रिहा गर्नेछ । रिहा हुनेमा महिला, महिला सैनिक, ५० वर्ष माथिका बन्धक हुनेछन् ।

– हमासले रिहा गरेका एक बन्धकको बदलामा इजरायलले ३० जना प्यालेस्टिनी रिहा गर्नेछ । हमासले रिहा गर्ने एक महिला सैनिकको बदलामा ५० जना प्यालेस्टिनी रिहा गर्नेछ ।

– युद्ध रोकिनेछ । इजरायली सैनिक गाजा क्षेत्रका बस्तीबाट पछाडि सरेर गाजाको किनारामा पुग्नेछ ।

– विस्थापित भएका प्यालेस्टिनीहरू घर फर्किन पाउनेछन् । गाजा क्षेत्रमा थप सहायता सामग्री जान दिइनेछ ।

दोस्रो चरण (४२ दिन) :

– दिगो शान्तिको घोषणा गरिनेछ ।

– हमासले बाँकी रहेका पुरुष बन्धक (सैनिक र नागरिक) रिहा गर्नेछ । यसको बदलामा इजरायलले कति मान्छे रिहा गर्ने भनेर तय भइसकेको छैन । गाजा क्षेत्रबाट इजरायली सैनिक पूर्णरूपमा बाहिरिनेछ ।

तेस्रो चरण :

– हमासको नियन्त्रणमा रहेका बन्धकको शव र इजरायली कब्जामा रहेको प्यालेस्टिनीको शव फिर्ता गरिनेछ ।

– गाजा पुनःनिर्माण योजना कार्यान्वयन गरिनेछ ।

– गाजा क्षेत्रमा भित्रिन र बाहिरिन बोर्डर क्रसिङ खुला गरिनेछ ।

कतारका अमिरलाई राजदूत पौडेलको आग्रह – विपिन जोशीको रिहाइका निम्ति सघाउनू

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved