काठमाडौं । महिला प्रधानमन्त्री कपमा सुपर फोरमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सुदूरपश्चिमले बागमतीलाई ३० रनले पराजित गरेको हो ।
उच्च रनरेटका साथ बागमतीमाथि जित हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको छ । अब फाइनलमा सुदूरपश्चिमले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।
सुदूरपश्चिमले दिएको ११३ रनको लक्ष्य पछ्याएको बागमती १९.४ ओभरमा ८२ रन बनाएर अलआउट भयो ।
बागमतीका लागि यशोधा विष्टले ३० रन बनाइन् भने ओपनर हेलिशा गुरुङ २३ रन जोडिन् । अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
सुदूरपश्चिमका लागि करिष्मा थापा, कविता कुँवरले दुई/दुई तथा आशिका महरा र रितु कनौजियाले १-१ विकेट लिइन् ।
यसअघि सुदूरपश्चिमले पूरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा ११२ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि रितु कनौजिया ३४ रनमा अविजित रहिन् । मनिषा बोहराले १६ रन बनाउँदा कविता कुँवरले १३ रन जोडिन् ।
बागमतीका लागि सोनु खड्का र मनिषा उपाध्यायले ३–३ तथा विपिशा शाहीले १ विकेट लिइन् ।

Facebook Comment
Comment