महाभारतको वनमा लागेको आगो निभाउन सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

नेपालभ्युज

महाभारतको वनमा लागेको आगो निभाउन सेना परिचालन, पर्यटकीय क्षेत्रमा जान रोक

काठमाडौं । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत पर्वतशृङ्खलाको सामुदायिक वनमा मङ्गलबार दिउँसोदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले बिहीबार सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।

जिल्लाको बेचानचोक र महाभारत गाउँपालिकाको सीमास्थित खानीखोला गाउँपालिका–१ थाम लेकडाँडामा आगलागीका कारण फैलिएको ओगोले अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ ।

आगलागीका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । सोही कारण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पर्यटकीय क्षेत्र नारायणस्थानमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई भ्रमणमा रोक लगाएको हो ।

आगलागी नियन्त्रण नभएसम्म सो क्षेत्रमा नजान गाउँपालिकाले सूचना जारी गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । उनका अनुसार स्थानीय सरकार, प्रहरी, नेपाली सेनालगायत सबै आगो नियन्त्रण गर्न लागिरहेका छन् । ‘हामीले आगलागी क्षेत्रमा उच्च सावधानी अपनाउन सम्बन्धित सबैका लागि जानकारी गराएका छौँ,’ अधिकारीले भने ।

खानीखोला गाउँपालिका–१ थामलेकडाँडास्थित सामुदायिक वनमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको बताए ।

उनका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।

डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मङ्गलबार दिउँसो २ बजेदेखि वनको भीर क्षेत्रबाट आगलागी सुरु भएको हो । हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाउँदै आएको छ ।

कार्यालयले आगलागी नियन्त्रणका लागि अवस्था अनुगमन गर्न पठाएको टोलीले वन क्षेत्र तथा मानवबस्तीको एकीन गरिरहेको वन कार्यालयका प्रमुख कृष्णबहादुर थापाले बताए ।

प्रमुख जिल्ला अधिकारी ढकालले बुधबार साँझदेखि नै त्यसतर्फ पठाइएको जिल्लास्थित नेपाली सेना तथा प्रहरीका विभिन्न युनिटको टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेको बताए । ‘उहाँहरूले सोहीअनुसार कार्य गरिरहनुभएको छ, आगलागी थप फैलिरहेको भन्ने सूचना आएको छ, सुरक्षा निकायसहित हामी त्यसप्रति संवेदशील छौँ,’ उनले भने ।

आगलागी थप फैलिँदै गए नियन्त्रणका लागि अन्य सरोकारवाला निकाय (गृह मन्त्रालय)सँग थप समन्वय गरी आवश्यकीय उपकरणसहित थप जनशक्ति परिचालन गरिने प्रजिअ ढकालले बताए ।

यसैगरी पर्यटकीयसँगै बहुमूल्य जडीबुटी तथा जङ्गली जनावरको बासस्थान रहेको महाभारत जङ्गलमा चार दिनदेखि आगलागी भइरहेको हो । बेथानचोक गाउँपालिका–६ स्थित भुग्देउको माथिल्लो क्षेत्रको बस्ती आगलागीको नजिक रहेको बताइएको छ ।

त्यस क्षेत्रमा रहेको बहुमूल्य जडीबुटी, महत्त्वपूर्ण रुख, जङ्गली जनावर तथा चराको बासस्थान रहेको यस क्षेत्रलाई जोगाउन आवश्यक देखिएको स्थानीय बताउँछन् । आगलागी भएको स्थानबाट मानवबस्ती करिब चार किलोमिटरको दूरीमा रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले भने हालसम्म कुनै मानवीय एवं पशुमा क्षति नपुगेको जनाएको छ ।

तीन दिनमा पनि नियन्त्रणमा आएन महाभारत जङ्गलमा लागेको आगो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved