काठमाडौं । इङ्ग्ल्यान्डविरुद्धको पहिलो टी–२० क्रिकेटमा भारतीय टोली विजयी भएको छ ।
कोलकाताको इडेन गार्डेनमा बुधबार साँझ भएको खेलमा घरेलु टोली भारतले इङ्ग्ल्यान्डलाई ७ विकेटले हराएको हो ।
खेलमा भारतीय कप्तान सूर्यकुमार यादवले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए । पहिले ब्याटिङ गरेको इङ्ग्ल्याडले निर्धारित २० ओभरमा सबै विकेट गुमाइ १३२ रन बनाएर भारतलाई १३३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो ।
इङ्ग्ल्यान्डका लागि कप्तान जोस बटलरले सर्वाधिक ६८ रन बनाए । भारतका लागि वरुण चक्रवर्तीले सर्वाधिक ३ विकेट लिए । यसबाहेक अक्षर पटेल, हार्दिक पाण्ड्या र अर्शदीप सिंहले २–२ विकेट हात पारे ।
भारतीय टोलीले १२.५ ओभरमा मात्र ३ विकेटको क्षतिमा १३३ रन बनाएर खेल जित्यो । ओपनर अभिषेक शर्माले ३४ बलमा ५ चौका र ८ छक्का प्रहार गर्दै ७९ रनको इनिङ खेले ।
इङ्ग्ल्यान्डको टोली भारत भ्रमणमा छ । भारतीय टोली यस भ्रमणको ५ खेलको टी–२० सिरिजमा अब १–० ले अगाडि छ । यी २ टोलीबीच ३ वटा एकदिवसीय खेल पनि हुनेछ ।
Facebook Comment
Comment