कर्णाली प्रदेशसभाले पायो तीनवटा विषयगत समितिका सभापति

नेपालभ्युज

कर्णाली प्रदेशसभाले पायो तीनवटा विषयगत समितिका सभापति

काँक्रेविहार । कर्णाली प्रदेशसभामा रहेका तीनवटा विषयगत समितिको नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ । सार्वजनिक लेखासमितिको सभापतिमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य विन्दमान विष्ट, सामाजिक विकास समितिको सभापतिमा सत्तारुढ दल नेपाली कांग्रेसका पूर्णबहादुर खत्री र अर्थ तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेकपा एमालेकी प्रदेशसभा सदस्य दक्षिणा कुमारी शाही चयन भएका छन् ।

प्रदेश मामिला समितिको सभापतिमा भने लामो समयदेखि एकीकृत समाजवादीबाट प्रदेशसभा सदस्य कल्याणी खड्का रहेकी छिन् । विषयगत समितिको नेतृत्व टुङ्गो लगाउन प्रदेशसभाले मङ्गलबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । सोही अनुसार बुधबार उम्मेदवारको मनोनयन दर्ताको तालिका रहेकोमा तीनवटै समितिमा एक÷एकजनाको मात्रै उम्मेदवारी परेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी राजेन्द्र पौडेलले बताए ।

तीन प्रमुख राजनीतिक दलहरूको सहमति अनुसार सार्वजनिक लेखासमिति प्रमुख प्रतिपक्ष दलले लिएको छ । यसअघि एमालेका जीतबहादुर मल्ल समितिको सभापति थिए । लेखा समिति प्रतिपक्षलाई दिँदै आएको अभ्यास भएकाले उनले असोज १५ गते राजीनामा दिएका थिए ।

तत्कालीन समयमा माओवादी–एमाले गठबन्धन बनेपछि अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति रहेका दुर्गबहादुर रावत ०८१ वैशाख १८ मा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेपछि समिति सभापतिविहीन बनेको थियो । सामाजिक विकास समितिका सभापति रहेका घनश्याम भण्डारी २०८१ साउन २० मा मन्त्री बनेपछि उक्त समिति सभापतिविहीन बनेको थियो ।

सदन नचलेका बेला सरकारलाई निर्देशन दिने, सरकारले गर्ने काम–कारबाहीमाथि निगरानी गर्ने, आवश्यक परे कारबाहीका लागि सिफारिस गर्ने लगायतका जिम्मेवारी रहेका समिति नेतृत्वविहीन हुँदा कतिपय विधेयक दुई वर्षदेखि समितिमा अड्किएका छन् । समितिले नेतृत्व पाएसँगै ती विधेयकका विषयमा छलफल अगाडि बढ्ने देखिएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved