काठमाडौं । आकर्षक आँखा, चट्ट मिलेको जिउडाल, हातैभरी रुद्राक्षको माला र झोला बोकेकी एक युवती अहिले सोसल मिडिया सेन्सेसन बनेकी छन् ।
उनी हुन्, १६ वर्षीया मोनालिसा भोन्सले । जनवरी १३ देखि सुरु भएको भारतको उत्तर प्रदेश राज्यको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा आफ्नो सुन्दरता र आकर्षक आँखाका कारण मोनालिसा भाइरल भएकी हुन् ।
मध्य प्रदेशको महेश्वर घर भएकी मोनालिसा माला बेच्ने काम गर्छिन् । उनका पिता विजय सिंह भोन्सले हुन् । मोनालिसाको एक बहिनी, एक दिदी र एक दाइ पनि छन् ।
सबैभन्दा पहिला अक्टोबर २०२४ मा महेश्वरमा मालाहरू बेच्दै गर्दा एक फोटोग्राफरले उनको तस्वीर खिचेका थिए, जुन सोसल मिडियामा भाइरल बनेको थियो ।
फेरि जनवरी २०२५ मा प्रयागराजमा लागेको महाकुम्भ मेलामा रुद्राक्षका मालाहरू बेच्दै गर्दा उनको प्राकृतिक सुन्दरताले धेरैको ध्यान खिच्यो । उनको सुन्दर आँखा, तीखो नाक, र लामो बाटिएको कपालले उनलाई इन्टरनेटमा धेरैले रुचाए । धेरैले उनलाई सेलिब्रेटीहरूसँग तुलना गर्दै उनको प्राकृतिक आकर्षणको प्रशंसा गरे ।
मोनालिसाको परिवारको परम्परागत व्यवसाय माला बेच्ने हो । उनकी हजुरआमाकाअनुसार मोनालिसालाई पढाइमा रुचि थिएन र सानै उमेरमा विद्यालय छोडिन् । उनलाई फोन चलाउन र इन्स्टाग्राम रील्स बनाउन एकदमै मनपर्छ । उनको सपना चलचित्रको अभिनेत्री बन्ने हो ।
महाकुम्भ मेलामा धेरै मानिसहरूले उनको लोकप्रियता र सुन्दरताको कारणले उनीसँग फोटो खिच्ने, भिडिओ बनाउने गर्न थाले । उनी माला बेच्नमा भन्दा पनि धेरै मानिसहरूको भीडसँग फोटो खिच्न र भिडिओ बनाउन व्यस्त हुन् थालिन् । जसले गर्दा उनको व्यवसायमा बाधा पुग्यो ।
अत्यधिक मानिसहरूको उनीप्रतिको ध्यानले उनलाई असहज बनायो र केहीले उनलाई दुर्व्यवहारसमेत गरे । यसकारण उनका बुवाले उनलाई आफ्नो घर इन्दौर फर्काउने निर्णय गरे ।
व्यापारमा बाधापछि घर फर्काइयो
उनी जब रातारात भाइरल भइन्, महाकुम्भ मेलामा गएका सबैले उनीसँग फोटो र भिडिओ बनाउन थाले ।
उनलाई हेर्नकै लागि भीड जम्मा हुन थाल्यो । उनलाई मन पराउनु राम्रो कुरा हो, तर यो सबै व्यवस्थापन गर्ने क्षमता उनको परिवार र उनमा थिएन । किनकि उनी सामान्य परिवारकी हुन् र महाकुम्भ मेलामा मालाको व्यापार गर्न आएकी थिइन् ।
उनीसँग सेलिब्रेटीले जसरी पाउने सुरक्षा थिएन । केही पुरुषले उनलाई कुदृष्टि राख्दै पछ्याउने गर्न थाले । एउटा भिडिओमा केही पुरुषहरू उनको पछि लागेको र सुरक्षाको लागि आफ्नो बहिनीले तानेको देख्न सकिन्छ ।
उनी भिडबाट लुक्नको लागि पछ्यौरीले मुख छोप्दै गरेको देखिएकी छिन् । धेरैले उनलाई नेम र फेमको लागि मेकअप गरेको भिडिओ पनि भाइरल नै छन् ।
भाइरल हुने चाहनाले उनको प्रयोग धेरैले गरेको प्रस्टै देख्न सकिन्छ । जो उनको व्यवसायको लागि घाटा बन्यो । यहीकारण पनि बुवा विजयले उनलाई घर फर्काउने निर्णय लिएका हुन् ।
Facebook Comment
Comment