सन्यासको आशयसहित मध्यरातमा सन्दीपको स्टाटस, क्रिकेट समर्थकमा तरङ्ग

नेपालभ्युज

सन्यासको आशयसहित मध्यरातमा सन्दीपको स्टाटस, क्रिकेट समर्थकमा तरङ्ग

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका विश्वचर्चित लेग स्पिनर सन्दीप लामिछानेले खेल जीवनबाट सन्यास लिने आशयसहित सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

उनले शनिबार मध्यराति दर्शकहरूसँगको तस्वीर सेयर गर्दै आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएका हुन् ।

‘सबै कुराका लागि सबैलाई धन्यवाद । यो देश र यस सुन्दर राष्ट्रका अद्भुत मानिसहरूले मेरो यात्राको प्रत्येक कदममा सधैँ साथ दिए, अटल सहयोग प्रदान गरे’, सन्दीपले फेसबूकमा लेखेका छन्, ‘तपाईंहरूको माया र हौसला मेरा लागि अमूल्य छन् र सधैँ मेरो हृदयमा विशेष स्थान ओगटिरहनेछन् । शब्दहरूमा व्यक्त गर्न नसकिनेगरी आभारी छु ।’

भर्खरै २४ वर्ष मात्र पुगेका सन्दीपले सन्यास आशयको स्टाटस लेख्नुलाई स्वाभाविक मानिएको छैन । यसले क्रिकेट समर्थकमा तरङ्ग पैदा गरेको छ । यसबारे विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

कसैले खेल जीवनबाट सन्यास नलिन अनुरोध गरिरहेका छन् भने कतिपयले भने नघुर्क्याउन आग्रह गरेका छन् । कतिले चाहिँ ‘ह्याप्पी रिटायरमेन्ट’ लेखेका छन् ।

पछिल्लो समय राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका सन्दीपले जय ट्रफी प्रतियोगितामा अम्पायरले गरेको निर्णयप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाएका थिए ।

उनले नेपालको अम्पायरिङको स्तरमा ठूलो सुधार आवश्यक रहेको बताएका थिए । सन्दीपको खेल पछिल्लो समय भने खस्किएको छ ।

गत महिना सकिएको नेपाल प्रिमियर लिग (एनपीएल)मा पनि उनले खराब प्रदर्शन गरेका थिए । हालै सकिएको जय ट्रफीमा भने उनले औसत प्रदर्शन गरे ।

अम्पायरिङप्रति औँला उठाएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) र सन्दीपबीच सम्बन्ध चिसिएको छ । यसैकारण उनले सन्यासको सङ्केत गरेको हुनसक्ने अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved