कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार-हत्या प्रकरण : अभियुक्त सञ्जय दोषी ठहर

नेपालभ्युज

कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कार-हत्या प्रकरण : अभियुक्त सञ्जय दोषी ठहर

काठमाडौं । कोलकाताको आरजी कार अस्पतालका एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या प्रकरणमा सियालदह अदालतले मुख्य आरोपी सञ्जय रोयलाई दोषी ठहर गरेको छ ।

न्यायाधीश अनिर्बान दासले शनिबार फैसला सुनाएका हुन् । सजाय भने २० जनवरीमा तोकिने अदालतले जनाएको छ ।

अदालतले घटनाको १६२ दिनपछि फैसला सुनाएको हो । बलात्कार-हत्याको घटना ९ अगस्ट २०२४ मा भएको थियो र १८ जनवरी २०२५ मा फैसला आएको हो ।

सीबीआईले आरोपी सञ्जयलाई मृत्युदण्ड दिन माग गरेको छ ।

फैसला सुनाउने क्रममा न्यायाधीश दासले सञ्जयलाई हेर्दै सीबीआईले पेस गरेको यौन शोषण र बलात्कारको प्रमाणले उनको अपराध प्रमाणित भएको बताए ।

उनलाई भारतीय न्यायिक संहिताको धारा ६४ र १०३ (१) अन्तर्गत दोषी ठहर गरिएको छ ।

यस मामिलामा सीबीआईले मेडिकल कलेजका प्रिन्सिपल सन्दीप घोष र स्थानीय ताला प्रहरी चौकीका इन्चार्ज अभिजित मण्डलविरुद्ध प्रमाण नष्ट गरेको आरोपमा आरोपपत्र दायर गर्न सकेको थिएन, जसका कारण उनीहरूलाई जमानत दिइएको छ ।

तर, मृतक चिकित्सकका अभिभावकले सीबीआईको अनुसन्धानप्रति असन्तुष्टि जनाएका छन् र मुद्दाको अनुगमन गर्ने सर्वोच्च अदालत र कलकत्ता उच्च अदालतमा निवेदन दिएका छन् ।

यस याचिकामा उनले सियालदहको विशेष अदालतलाई यस मुद्दामा सजाय सुनाउनबाट रोक्न र सम्पूर्ण मुद्दाको नयाँ छानबिन गर्न अपील गरेका छन् ।

गत अगस्ट ९ राति आरजी कार अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको थियो । साउन ९ गते बिहान सेमिनार हलमा डाक्टरको शव भेटिएको थियो । सीसीटीभी फुटेजको आधारमा प्रहरीले सञ्जय रोय नामका सिभिक स्वयंसेवकलाई अगस्ट १० मा पक्राउ गरेको थिए ।

सीबीआईले १० डिसेम्बर २०२४ मा सर्वोच्च अदालतमा स्टेटस रिपोर्ट दिएको थियो । जसमा सियालदह ट्रायल कोर्टमा नियमित सुनुवाइ भएको र ८१ मध्ये ४३ जना साक्षीलाई सोधपुछ गरिएको बताइएको छ ।

यस घटनापछि कोलकातामा प्रदर्शन सुरु भयो र राज्यमा स्वास्थ्य सेवा दुई महिनाभन्दा बढी समयसम्म ठप्प भएको थियो ।

सम्बन्धित सामग्री –

कोलकाता बलात्कार-हत्या प्रकरण : अन्तिम कलमा ‘मेरो चिन्ता गर्नुपर्दैन’ भनेकी छोरी सधैँका लागि अस्ताइन्


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved