छ महिनामा एक लाख बढीले घुमे निकुञ्ज

नेपालभ्युज

छ महिनामा एक लाख बढीले घुमे निकुञ्ज

चितवन । चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन्दा बढी आन्तरिक पर्यटक रहेका छन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार साउनयता निकुञ्जमा ५३ हजार एक सय तीन नेपालीले भ्रमण गरेका हुन् । दक्षिण एसियाली मुलुकका १० हजार आठ सय ५० र तेस्रो मुलुकका ४६ हजार तीन सय ९२ जनाले निकुञ्जको भ्रमण गरेका छन् ।

पर्यटकबाट १३ करोड एक लाख ४६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनको भनाई छ । निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, गोहीलगायत वन्यजन्तु, जलचर र चराचुरुङ्गी हेर्न पर्यटक आउने गरेका छन् ।

निकुञ्ज र मध्यवर्ती क्षेत्रमा हात्ती, डुङ्गा, जिप र पैदल यात्रा गरेर पर्यटक रमाउने गर्दछन् । चितवनको मुख्य आकर्षण नै चितवन राष्ट्रिय निकुञ्ज हो । यसैबीच, निकुञ्जमा एउटा पोथी गैँडा मृतावस्थामा भेटिएको छ ।

बिहीबार निकुञ्जको ध्रुव पोस्ट नजिक ताप्लेतालमा अन्दाजी ३० वर्षको पोथी गैँडा मृत भेटिएको हो । उक्त गैँडा प्राकृतिक कारण मरेको आशङ्का गरिएको छ । मृत भेटिएको गैँडाको खाग खुर सुरक्षित छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म १३ गैँडा मृत भेटिएका छन् । जसमध्ये पाँच भाले, पाँच पोथी र लिङ्ग पहिचान नभएका तीन रहेका छन् । मृत भेटिएकामध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने अन्य सबै प्राकृतिक कारणले मरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved