काठमाडौं । अज्ञात व्यक्तिको छुरा प्रहारबाट घाइते भएका भारतीय अभिनेता शेफअली खानको अहिले मुम्बईस्थित लीलावती अस्पतालमा उपचार भइरहेको छ ।
आक्रमणबाट उनको शरीरका ६ ठाउँमा चोट लागेको अस्पतालले जनाएको छ । तीमध्ये दुईवटा चोट गहिरा रहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ)समेत रहेका डा नीरज उत्तमानीले बताएका छन् ।
‘अभिनेता खानको ६ ठाउँमा चोट लागेको छ, जसमध्ये दुई गहिरा छन् । एउटा घाउ मेरुदण्डको छेउमा छ । उहाँको शल्यक्रिया भइरहेको छ । चोट कति गहिरो छ, शल्यक्रियापछि थाहा हुनेछ,’ उनले भने ।
डा उत्तमानीले खानफको घाँटीमा पनि चोट लागेको बताएका छन् । उनको बिहान साढे ५ बजेबाट शल्यक्रिया सुरु भएको उनले बताए ।
अभिनेता खानमाथि बुधबार राति एक अज्ञात व्यक्तिले मुम्बईस्थित घरमा घुसेर आक्रमण गरेका थिए ।
भारतीय प्रहरीका अनुसार बान्द्रामा रहेको खानको घरमा राति २ः४५ बजे एक अज्ञात व्यक्ति छिरेका थिए । ती व्यक्तिले पहिले खानको घरमा काम गर्ने मानिससँग झगडा गरेका थिए । त्यसपछि खानले प्रतिकार गर्दा व्यक्तिसँग झडप भयो । यस क्रममा छुरा प्रहार हुँदा अभिनेता खान घाइते भएका हुन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अभिनेत्रीसमेत रहेकी पत्नी करिना कपुर र अन्य परिवारका सदस्य भने सकुशल रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ती व्यक्ति चोरीका लागि खान निवास प्रवेश गरेको हुनसक्ने प्रहरीको अनुमान छ । छुरा प्रहार गरेर फरार रहेका आक्रमणकारीको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
Facebook Comment
Comment