माघे सङ्क्रान्तिको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने– आज घ्यू, चाकु र तरुल खाने दिन

नेपालभ्युज

माघे सङ्क्रान्तिको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने– आज घ्यू, चाकु र तरुल खाने दिन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई माघे सङ्क्रान्ति र माघी पर्वको शुभकामना व्यक्त गरेका छन् । उनले मङ्गलबार सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन् ।

‘आज माघे सङ्क्रान्ति, तराई क्षेत्रमा थारू जातिको माघी पर्व पनि हो, सूर्य धनु राशिबाट मकर राशिमा सङ्क्रमण (प्रवेश) गर्ने भएकाले यस दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘आज घ्यू, चाकु, तरुल, तील, खित्रो र विभिन्न प्रकारका कन्दमूल र थारू जातिहरूमा घुङ्गी खाने चलन छ, सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना !’

आज मुलुकभर थारूका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ ।

आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।

तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।

आज माघे सङ्क्रान्ति मनाइँदै : तराईमा नहान पर्व, थारू समुदायको माघी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved