जनकपुरधाम । ६० वर्षिया कौशिलादेवी सदाको दुई कोठे माटोको सानो झुपडीमा बाँसको चारवटा खम्बा गाडेर थोरबहुत काठहरुलाई एकसरो मिलाएर मचान (सुत्ने बिस्तारा) बनाइएको छ ।
सो मचानमाथि एउटा गुन्द्री राखेर त्यसमा पराल ओछ्याएर न्यानो बनाइएको छ । परालमाथि पातलो तन्ना र पुरानो थुत्रो परिसकेको एउटा कम्बलको भरमा शिवशक्तिले मुटु कमाउने माघको जाडो कटाउनु परेको छ ।
रातभरी चिसो शितले उनको झोपडीलाई झनै चिसो बनाउँछ । माथिबाट खरको छाना भएको छोपडीबाट चुहिने शितका थोपाहरुले न्यानो पार्न राखिएको परालहरुलाई समेत भिजाउँदा शिवशक्तिका लागि आपत् अझ बढ्छ तर, गर्ने के कुनै उपाय उनीसँग छैन ।
बिहान उठ्ने, राति सुतेको पराललाई घाममा सुकाउने र घर आँगनमा भएका थप परालहरुलाई जम्मा पारेर आगो लगाई ताप्ने यही दिनचर्या छ, उनको ।
मधेसमा अहिले शितलहरले चौतर्फी कब्जा जमाएको बेला गरिब विपन्नहरुलाई यसबाट जोगिने एक मात्र सहारा, पराल ।
‘यो पराल नभएको भए हामी त चिसोले कठ्याङ्ग्रिएर मर्थ्यौँ होला,’ जनकपुरधाम उपमहानगरपालिका-१४ मुजेलिया मुसहरी टोलका नेपरी सदा भन्छन्, ‘गरिबलाई भगवान्ले पनि दुःखै दिएका हुन्छन्, यस्तोमा पराल नै साथि छ । यो ओढ्नलाई पनि हुन्छ, बिछ्याउनलाई पनि अनि जलाएर आगो ताप्नलाई पनि ।’
मङ्सिरसम्ममा धान काटेर भित्र्याएपछि बचेको परालले पुस र माघको शितलहरमा राहत प्रदान गर्ने गर्दछ । पराल न्यानो हुने हुनाले यसलाई सुत्नका लागि ओछ्यानको रुपमा पनि प्रयोग गर्ने गरिन्छ ।
‘हुने खानेले न जाडोको बाक्लो लुगा किन्न सक्छन्, हामीलाई त छाक टार्न धौ धौ छ । अनि लुगाफाटो र बिस्तारा कहाँबाट ल्याउने यस्तो बेलामा पराल नै सहारा छ,’ महोत्तरीको मनरा सिसवा नगरपालिका-१० मधवाको मुसहरी टोलका सिकेन्द्र पासवान भन्छन्, ‘शितलहरका बेला मेहनत मजदुरी वा अन्य काम पनि पाइँदैन । आर्थिक अवस्था झनै बिग्रिन्छ यस्तोमा फ्रीमा पाइने भनेकै पराल हो । अनि हामी यहि ओढेर शितलहर कटाउँछौं ।’
मधेसमा शितलहर ठूलो प्राकृतिक विपद्को रुपमा भएपनि यस्तो बेलामा न्यानो वितरण गर्न वा गरिब, विपन्न तथा दलित बस्तीहरुमा राहत दिन तीन तहकै सरकारको ध्यानाकर्षण हुन सकेको छैन ।
Facebook Comment
Comment