सिन्धुपाल्चोक। पर्यटकीय क्षेत्र सुकुटेमा राफ्टिङ व्यवसायीहरुको छाता सङ्गठन नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सीज् “नारा”ले पुस २० गते शनिबारदेखि आयोजना गरेको २३औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०२५ मा कायाक तर्फको सम्पूर्ण उपाधि राफ्टिङ स्टार रिजोर्टका कायाकरहरुले जितेका छन् ।
शनिबार बलेफीस्थित ब्राह्मायणी (बलेफी) नदीमा भएको “स्लालोम” प्रतियोगितामा राफ्टिङ स्टारका अशोक चौधरीले कुल ४०० अङ्क प्राप्त गरी उपाधि जिते । यसैगरी सुनकोशी (तल्लो भोटेकोशी) नदीमा भएको “डाउन स्ट्रीम कायाक रेस” प्रतियोगितामा राफ्टिङ स्टारकै कृष्ण खड्का ३०० अङ्कसहित विजयी भएका छन्।
१८ जना कायाकरले भाग लिएका स्लालोम र डाउन स्ट्रीम कायाक रेसको दुबै विधामा कुल ६२८ अङ्कसहित कृष्ण खड्का प्रथम, ६२५ अङ्कसहित अशोक चौधरी द्वितीय र ६२० अङ्कसहित विजय माझी तृतीय भए।
दुबै विधामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु १५०००, १०००० र ५००० नगद का साथै शिल्ड, मेडल अनि प्रमाणपत्र प्रदान गरिएको छ ।

यसैगरी आइतबार टिम इभेन्टअन्तर्गत भएको ‘ह्वाइट वाटर राफ्ट रेस’मा भोटेकोशी एड्भेन्चर क्लब प्रथम, नेपाल रिभर रनर द्वितीय र राफ्टिङ स्टार तृतीय भएका छन् । एउटा राफ्टमा ४ जना खेलाडी र अतिरिक्त एक जनासहित ६० जना खेलाडी सहभागी भएको प्रतियोगितामा कुल १२ वटा राफ्टले भाग लिएका थिए।
प्रथम, द्वितीय र तृतीय हुने टिमले करिब १५ किमि लामो डाउन रिभर रेस क्रमशः २९:५७, ३०:२५ र ३०:५१ मिनेटमा पूरा गर्दै नगद ३० हजार, २० हजार र १० हजार का साथै शिल्ड, मेडल अनि प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिताको सम्पूर्ण विजयी खेलाडीहरूलाई आइतबार आयोजित समापन कार्यक्रममा बागमती प्रदेश सभा सदस्य एवं पूर्व सहकारी, पर्यटन तथा संस्कृतिमन्त्री दिपेन्द्र श्रेष्ठले पुरस्कार वितरण गरेका छन् ।

Facebook Comment
Comment