काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आर्थिक अवस्थामा सुधार ल्याउन अर्थतन्त्रमा व्यापक सुधार गर्ने समय आएको बताएका छन्।
नेपाल राष्ट्रिय व्यवसायी महासंघको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले परिवर्तित राजनीतिक व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्न आर्थिक क्षेत्रमा व्यापक सुधार अनिवार्य भएको बताएका हुन् ।
‘विगत लामो समयदेखि नेपालको अर्थतन्त्रमा देखिएका चुनौतीको सामना गर्दै यसको सुधारका पक्षमा व्यवसायीले धैर्यता र संयमताका साथ गरिरहेको योगदान स्मरणीय र उल्लेखनीय छ,’ उनले भने, ‘अब क्रमशः नेपालको अर्थतन्त्रमा सुधारका संकेत देखापर्न थालेका छन्। लगानीमैत्री वातावरण, उत्पादन वृद्धि र व्यापार व्यवसायको प्रवर्धनमार्फत स्वरोजगर र रोजगारीका अवसर सिर्जना गर्दै अर्थतन्त्रमा व्यापक सुधार गर्न हाम्रो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बेला आएको छ।’
अध्यक्ष प्रचण्डले चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट निर्माण गर्दा आफ्नो नेतृत्वको सरकारले अर्थतन्त्रका रूपान्तरणकारी क्षेत्रको पहिचान र परिचालनका लागि स्पष्ट योजना अघि सारेको जिकिर गरे।
उनले भने, ‘कृषिलाई आधार र सूचना प्रविधिलाई नेतृत्वदायी भूमिकामा राख्ने अवधारणासहित कृषि, पर्यटन, जलविद्युत्, उद्योग र सूचना प्रविधि क्षेत्रलाई रूपान्तरणकारी क्षेत्रका रूपमा पहिचान र परिचालन गर्नु आर्थिक समृद्धिको क्षेत्रमा महत्वपूर्ण सुरुआत हो।’
संविधानको अभिष्ट समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नु रहेको भन्दै उनले त्यसका लागि उत्पादनमुखी अर्थतन्त्रलाई प्रवर्द्धन गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्नेमा जोड दिए।
Facebook Comment
Comment