काठमाडौं । पिङ्गलास्थानस्थित एउटा होटलमा मृत फेला परेकी युवतीको हत्या भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।
बुधबार दिउँसो बागमती होटलको कोठा नम्बर ३०८ मा कागेश्वरी मनोहरा ठेगाना भएकी २१ वर्षीय सुस्मिता खड्का मृत फेला परेकी थिइन् ।
युवतीसँगै बसेका युवा फरार भएपछि उनैले घटना घटाएर भागेको हुनसक्ने प्रहरीको अनुमान छ । बाहिरबाट कोठा बन्द गरिएको अवस्थामा सुस्मिता मृत फेला परेकी थिइन् ।
परिवारले प्रहरीलाई दिएको जानकारीअनुसार सुस्मिता जापान जाने तयारीमा थिइन् । उनी केही दिनअघि मात्र जापानबाट नै नेपाल फर्किएका ती युवकसँगै नयाँ वर्षको अघिल्लो दिन होटलमा पुगेकी थिइन् ।
बुधबार दिउँसो ढोका नखुलेपछि गेस्ट हाउसका सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा ढोकाको ताल्चा तोडेर हेर्दा युवती मृत भेटिएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।
आफन्तबाट जाहेरी दरखास्त लिई घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
Facebook Comment
Comment