काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति युन सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ
राजधानी सियोलको एक अदालतले उनीविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो ।
युनले देशमा लगाएको मार्सल लका कारण यो वारेन्ट जारी गरिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । तत्कालीन राष्ट्रपति युनले डिसेम्बर ३ मा देशमा मार्सल ल लगाएका थिए ।
तर, चर्को विरोधपछि उनले ६ घण्टाभित्र आफ्नो निर्णय फिर्ता लिनुपरेको थियो । यसपछि युनविरुद्ध महाभियोग प्रस्ताव ल्याइयो र उनलाई राष्ट्रपति पदबाट हटाइयो ।
युनको मार्शल ल लागू गर्ने निर्णयविरुद्ध अनुसन्धान भइरहेको छ । उनलाई विद्रोह र देशद्रोहको आरोप लगाइएको छ ।
अनुसन्धानका क्रममा विगत दुई सातामा पूर्वराष्ट्रपतिलाई सोधपुछका उपस्थित हुन तीनवटा सन्देश पठाए पनि उनले बेवास्ता गरेका थिए । त्यसपछि उनीविरुद्ध यो वारेन्ट जारी भएको हो ।
वारेन्टमार्फत अदालतले अन्वेषकहरूलाई युनसँग सोधपुछ गर्न र उनलाई हिरासतमा लिन ४८ घण्टाको समय दिएको छ ।
अनुसन्धानकर्ताहरूले विद्रोह र शक्तिको दुरुपयोगको आरोपमा आइतबार राति पक्राउ पुर्जीको माग गरेका थिए । तर, युनका वकिलले अन्वेषकहरूको यो कदमलाई ’अवैध’ भनेका छन् ।
मार्शल लको घोषणापछि दक्षिण कोरिया राजनीतिक संकटमा छ । युन र उनका उत्तराधिकारी दुवैलाई महाभियोगमार्फत निलम्बित गरिएको हो ।
Facebook Comment
Comment