झापा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनबाट आफ्नो पार्टीलाई पहिलो बनाए भ्रष्टाचारलाई जरैबाट उखेलेर फाल्ने उद्घोष गरेका छन् ।
झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजित खबरदारी सभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् ।
आफ्नो पार्टीले भ्रष्टाचारविरोधी अभियानलाई राष्ट्रिय अभियानको रूपमा अघि बढाएको उल्लेख गर्दै उनले यसमा जनताको तागत पनि जोडियो भने भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्न सम्भव रहेको बताए ।
‘अब मसँग भ्रष्टाचारमुक्त मुलुक निर्माण गर्ने, उपेक्षित, उत्पीडित जनतालाई अधिकारसम्पन्न बनाउने र आर्थिक समृद्धिमार्फत जनताको जीवनस्तर बदल्नेबाहेक अरु कुनै विकल्प छैन’ उनले भने, ‘तपाईंहरुको तागत मसँग जोडियो भने देशबाट दलाल, बिचौलिया र भ्रष्टहरुलाई लखेटेर भ्रष्टाचारमुक्त मुलुक बनाउन सम्भव छ र बनाइने छ ।’
देशैभरि माओवादी केन्द्रप्रति नयाँ आशा र भरोसा बढ्दै गएको उल्लेख गर्दै उनले केही समयअघिको निर्वाचनबाट कोशी प्रदेशमा माओवादी केन्द्र पहिलो बनेको र देशभर पनि उल्लेख्य प्रगति भएको बताए ।
यो २०८४ को निर्वाचनको सङ्केत भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले माओवादी एक्लै चुनाव लड्न सक्दैन भन्ने गलत भाष्य अब खारेज भएको बताए । ‘हिजो काङ्ग्रेस वा एमालेसँग मिलेर उनीहरुलाई पहिलो पार्टी बनाउनतिर समय खेर फालियो’ उनले भने, ‘अब एक्लै लडेर हामी एक नम्बरको पार्टी बन्छौं ।’
प्रचण्डले अहिले नेपाली जनताले प्रयोग गर्न पाएको राजनीतिक अधिकार माओवादीकै कारण सम्भव भएको उल्लेख गर्दै बाँकी राजनीतिक अधिकारलाई पूर्णता दिने, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकताका साथ अघि बढाउने बताए ।
Facebook Comment
Comment