शंकर पोखरेलको आरोप– प्रचण्डले नेपालमा अस्थिरताको बिउ रोपे

नेपालभ्युज

शंकर पोखरेलको आरोप– प्रचण्डले नेपालमा अस्थिरताको बिउ रोपे

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेपालमा अस्थिरताको बिउ रोपेको आरोप लगाएका छन् ।

शुक्रबार नवलपरासीको गैँडाकोटमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले अस्थिरतालाई प्रचण्डले विशेषता बनाउन थालेकाले ठूला दलबीच गठबन्धन गर्नुपरेको दाबी गरे ।

प्रचण्डले ३२ सिटले चमत्कार गर्छ भन्दै जनतामा भ्रम छर्न खोजेपछि जनताले अस्वीकार गरेका दलले शासन गर्ने प्रवृतिलाई अन्त्य गरिएको उनको भनाइ थियो ।

पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले ठूला दलको गठबन्धन सरकारका लागि मात्रै नभइ मुलुकको स्थायित्व र विकासका लागि भएको जिकिर गरे । अहिले ठूला दल मिलेर सरकार बनाएपनि आगामी निर्वाचनमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने उनको भनाइ छ ।

त्यस्तै महासचिव पोखरेलले पार्टीको मूल्य मान्यता र अनुशासनभित्र बस्न नसकेको कारण भीम रावललाई सदस्यबाट निष्कासित गर्नुपरेको बताए । पार्टीले स्पष्टीकरण सोध्दासमेत त्यसलाई रावलले बेवास्ता गरेको उनको भनाइ थियो ।

अन्य दुईजना नेताहरूलाई गरिएको निलम्बन भने सचेत मात्र भएको महासचिव पोखरेलले बताए ।

निलम्बन पार्टीबाट बाहिर पठाउने काम नभएको बताउँदै उनले पार्टीभित्रै प्रभावकारी भूमिका खेल्न भविष्यका लागि अनुकूल वातावरण बनाउन सो कार्य गरिएको दाबी गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved