हामी बाहिरै भए पनि ठूलो भएको पार्टी हेर्न पाऊँ शुभकामना छ : विन्दा पाण्डे

नेपालभ्युज

हामी बाहिरै भए पनि ठूलो भएको पार्टी हेर्न पाऊँ शुभकामना छ : विन्दा पाण्डे

काठमाडौं ।  नेकपा एमालेबाट जिम्मेवारीमुक्त भएकी स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डेले सचिवालय बैठकले गरेको निर्णयप्रति ठुलो पार्टी भएको हेर्न पाउँ भन्दै शुभकामना दिएकी छन् ।

बुधबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले ६ महिनाका लागि जिम्मेवारीविहीन गर्ने निर्णय गरेपछि नेपालभ्यूजसँग प्रतिक्रिया दिँदै उनले यस्तो शुभकामना दिएकी हुन् ।

‘अहिले ०८४ सम्म जसरी हामीले राष्ट्रिय शक्ति निर्माण गरेर जाने भनेका छौँ। यसले अझै बृहत् राष्ट्रिय शक्तिको हिसाबले निर्माण होस्। हामी बाहिरै भए पनि ठूलो भएको पार्टी हेर्न पाऊँ शुभकामना छ’, उनले भनिन् ।

जबजको बाटोमा हिँड्नुपर्ने पार्टी उल्टै विवादास्पद व्यक्तिलाई च्यापेर हिँड्दा त्यसको दूरगामी असर पर्ने बताउँदै पाण्डेले ०८४ मा एमालेले ठूलो शक्ति बन्ने लक्ष्य राखेकोमा यस्ता व्यवहारले असर पर्ने उनको तर्क छ ।

‘सचिवालयलाई मजस्ता मान्छेलाई पार्टीबाट अलग गर्दा हाम्रो पार्टी गजब हिसाले अगाडि बढ्छ, अनुशासित भएर अगाडि बढ्छ, नैतिक भएर अगाडि बढ्छ भन्ने लागेको छ भने पार्टी राम्रो होस् अझै बृहत होस्,’ पाण्डेले थपिन् ।

व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गामा एमाले पार्टी कार्यालय बनाउन शिलान्यास गरिएपछि पाँच लाख कार्यकर्ताको अपमान हुने भन्दै निर्णय फिर्ता लिन सुझाव दिएपछि उनलाई एमालेले स्पष्टीकरण सोधेको थियो।

उनले दिएको स्पष्टीकरण चित्त नबुझेको भन्दै बुधबार बसेको सचिवालय बैठकले उनलाई ६ महिनासम्म जिम्मेवारीविहीन बनाउने निर्णय गरेको  छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved