काठमाडौं । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका स्थायी बासिन्दा कुलप्रसाद आचार्य भक्तपुरको बालकोट फिकाधारास्थित भाडाको घरको भुईँतलामा कोठाभित्र मृत भेटिए ।
उनीसँगै कान्छो छोरा २२ वर्षीय प्रवीण आचार्यको शव फेला परेको थियो । बुवा र भाइको हत्या अभियोगमा मिलन भन्ने रुपेश आचार्यलाई मङ्गलबार काठमाडौँ महाराजगन्जबाट पक्राउ गरेको छ ।
जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद सवारी चालक अनुमति पत्र बनाउन आएका थिए । तर, काठमाडौं आउँदा आफैँले जन्म दिएको छोराले उनको हत्या गरे ।
सोमबार बिहानसम्म कोठा नखुलेपछि शंका भयो । प्रहरीले कोठाको ताल्चा फुटाएर भित्र पस्दा बाउ–छोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिए ।
जेठो छोरा मिलनले बुवाको हत्यापछि सिरक ओढाइदिएका थिए । भान्छा कोठामा सुतेका प्रवीणको भने बीभत्स तरिकाले टाउकोमा सिलौटाले प्रहार गरी अनुहार नै चिन्नै नसकिने अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।
घटनापछि दिक्तेलबाट बालकोट आइपुगेकी कुलप्रसादकी पत्नी रेजिना आचार्य अहिले शोकाकुल छन् । बालकोटस्थित कान्छो छोरा एकनाथको घरमा बस्दै आएका मृतक कुलप्रसादका बुबा ८२ वर्षीय खडानन्द आचार्य, आमा ७६ वर्षीय तुलसा आचार्य पनि भावविह्ल छन् ।
८२ वर्षीय खडानन्दले आफ्नै छोरा र नातिलाई दागबत्ती दिएर कोरा बारेर किरिया बसेका छन् । यो परिवारमा घर झगडा र कलह कहिल्यै नरहेको आफन्तहरूले बताएका छन् ।
एक आपसमा माया र स्नेहमै अगाडि बढिरहेको अवस्थामा मिलनले आफ्नै बाबु र भाइको बीभत्स तरिकाले कसरी हत्या गर्न सके भन्ने प्रश्नले पटकपटक चिमोटिरहेको बताउँछन् आफन्त दीपक पाण्डे ।
शनिवार साँझसम्म कुलप्रसाद भाइको घरमा थिए । कान्छो छोराको घरमा बस्दै आएका आफ्ना बुबा खडानन्द र आमा तुलसासँगै थिए ।
साँझ जेठो छोरा (हत्या गर्ने)ले ‘मासु बनाएको छु बाबा, खाना खान आउनुस्’ भनेर बोलाएपछि झोला बुबाआमा सुत्ने कोठामै छाडेर छोराहरूको कोठामा पुगेका थिए उनी । बुबा र दुई भाइ छोराले शनिबार बेलुकाको खाना सँगै खाए । तर अचानक राति घटना भयो ।
मृतक कुलप्रसादकी पत्नी रेजिनाको आँसु रोकिएको छैन । ‘मेरो जेठोले अति माया गर्ने बुबा र भाइको हत्या गर्यो भनेर मैले कसरी पत्याउनु, मेरो छोरालाई मेरो अगाडि ल्याऊ, म उसकै मुखबाट सुन्न चाहन्छु,’ भन्दै भावविव्हल बनेकी रेजिना भन्छिन् ।
शिक्षिकाबाट अवकाशप्राप्त रेजिना पछिल्लो समय राजनीतिमा सक्रिय रहँदै आएकी थिइन् । उनी नेकपा एमाले खोटाङ जिल्ला सदस्य तथा अखिल नेपाल महिला सङ्घमा सक्रिय छिन् ।
परिवारका अनुसार ध्यान, अध्ययन र कलाकारितामा सक्रिय जेठो छोरा मिलन आफन्त र पारिवारिक भेटघाटमा रमाउँथे । सबैको प्यारो बन्दै आएका मिलन लोकसेवाको परीक्षामा असफल भएपछि केही निराश बनेका थिए । कान्छो छोरा प्रवीण सूचना प्रविधिमा स्नातक अध्ययन गरिरहेका थिए । विभिन्न प्रतियोगिताहरूमा भाग लिने उनी मोडलिङमा पनि जम्दै थिए ।
घटना हुनुभन्दा दुई दिन अघि मात्रै कुलप्रसादलाई जेठो छोरा मिलनले शिक्षण अस्पताल महाराजगन्ज लगेर स्वास्थ्य जाँच गराएर आएका थिए । गत शनिवार उनी साथीसँग क्रिकेट हेरेर फर्किएका थिए ।
रमेश गिरी \ रासस
Facebook Comment
Comment