बिदा लिएर काठमाडौं आएका थिए हुलाक हाकिम कुलप्रसाद, छोरासँगै मृत भेटिए

नेपालभ्युज

बिदा लिएर काठमाडौं आएका थिए हुलाक हाकिम कुलप्रसाद, छोरासँगै मृत भेटिए

काठमाडौं । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य भक्तपुरमा छोरासहित मृत फेला परेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी ५६ वर्षीय निमित्त कार्यालय प्रमुख आचार्य र उनका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य आज भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित भाडाको घरमा मृत फेला परेका हुन् ।

हुलाक कार्यालयका निमित्त कार्यालय प्रमुख आचार्य छोरासँगै भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा मृत फेला परेको खबर आफूसँग आएको खोटाङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।

उनले भने, “जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य बिदामा जाने भनेर मङ्सिर २८ गते प्रशासनमा आउनुभएको थियो । आज यस्तो खबर सुनियो । ”

हुलाकका निमित्त कार्यालय प्रमुख आचार्य खोटाङबाट पाँच दिनअघि मात्रै जेठा छोरा मिलन आचार्य र कान्छा छोरा प्रवीण बसिरहेको भक्तपुरस्थित बालकोटमा रहेको भाडाको घरमा पुगेका थिए । बाहिरबाट चाबी लगाएको कोठाभित्र आचार्य बाबुछोरा हत्या गरेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

आचार्य बाबुछोराको शरीरमा चोट देखिएको र सँगै बसिरहेका जेठा छोरा सम्पर्कविहीन हुनुमा घटना शङ्कास्पद बनेको मृतकका आफन्त एवं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका गोपाल आचार्यले बताए ।

गएराति तीन बाबुछोरा खाना खाएर सुतेका र सोमबार बिहान भने दुईवटा ढोकामा बाहिरबाट ताला लगाएको अवस्थामा बाबुछोराको शव भेटिएको आफन्तले बताएका छन् ।

उनीहरूसँगै कुलप्रसादका जेठा छोरा मिलन पनि सँगै सुतेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

शवमा चोटपटक भेटिएको र बाहिरबाट ताला लगाएकाले उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

उनीहरुको शव भाडाको कोठाबाट निकालेर परीक्षणका लागि अस्पताल लैजाने तयारी गरिएको आफन्तले बताएका छन् ।

बिदामा बसेका निमित्त कार्यालय प्रमुख आचार्यको मृत्यु हुनुको कारण अहिलेसम्म प्राप्त भइनसकेको जिल्ला हुलाक कार्यालय खोटाङले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved