आज विश्व ध्यान दिवस मनाइँदै

नेपालभ्युज

आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालसहित विश्वभर मनाइँदैछ ।

नेपालमा विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक र सामाजिक संस्थाहरूले विशेष कार्यक्रमको आयोजना गरी यो दिवसको महत्वलाई उजागर गरिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा मान्यता दिँदै, डिसेम्बर २१ लाई पहिलो पटक ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको हो । यस निर्णयले मानव जीवनलाई तनावमुक्त र स्वस्थ बनाउने दिशामा ध्यानको प्रभावलाई विश्वस्तरमा फैलाउन ठूलो योगदान पुर्‍याएको छ ।

प्राचीनकालमा ऋषिमुनि र योगीहरूले आश्रममा ध्यान अभ्यास गर्दै मानिसलाई शान्त जीवनका उपाय सिकाउँथे । आजका दिनमा भने विपश्यना, जीवन विज्ञान, ओमशान्ति, पतञ्जलीजस्ता संस्थाहरूले ध्यानलाई आधुनिक जीवनशैलीमा समेट्ने प्रयास गरिरहेका छन् ।

ध्यान, मानसिक तनाव घटाउने र दिमागलाई विश्राम दिने प्रभावकारी विधि मानिन्छ । अध्यात्मसँग जोडिएको यो प्रक्रिया अब स्वास्थ्य र व्यक्तिगत विकासका लागि पनि उपयोगी मानिंदै आएको छ ।

३२ घण्टासम्म लगातार ध्यान

दिवसको अवसरमा विश्वव्यापी रूपमा ३२ घण्टासम्म लगातार ध्यान गरिने कार्यक्रम तय भएको छ ।   यसले ध्यानको प्रभाव र महत्वलाई जनमानसमा अझ प्रस्ट बनाउने अपेक्षा गरिएको छ ।

नेपालमा पनि विभिन्न ध्यान केन्द्र र योग संस्थाहरूले शान्त र आरोग्य जीवनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सामूहिक ध्यान, ज्ञान प्रवचन, र अनुभव साझेदारीका कार्यक्रम गरिरहेका छन् ।

विश्व ध्यान दिवसले मानव जीवनलाई मानसिक शान्ति, तनावमुक्ति, र स्वास्थ्यको मार्गमा अगाडि बढाउन महत्वपूर्ण प्रेरणा दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved