हिरासतको फोटो प्रकरण: छानबिन समिति गठन, खिच्नेलाई पक्राउको तयारी

नेपालभ्युज

हिरासतको फोटो प्रकरण: छानबिन समिति गठन, खिच्नेलाई पक्राउको तयारी

पोखरा । सहकारी ठगी आरोपमा कास्की हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासतभित्रको फोटो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ ।

गण्डकी प्रदेश तालिम केन्द्रका प्रमुख तथा वरिष्ठ उपरीक्षक (एसएसपी) मुकुन्द मरासिनीको नेतृत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।

यसअघि हिजै गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई उक्त घटनामा संलग्नको अनुसन्धान र कारबाहीको निर्देशन दिएका थिए ।

लामिछानेको हिरासतभित्र सिरक ओढेर सुतिरहेको फोटो बुधबार राति सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बहस सुरु भएको थियो । निकोलस भुसाल नाम गरेका एक व्यक्तिले उक्त फोटो आफूले खिचेको दाबी गरेका थिए ।

हिरासतको ‘कन्ट्रोल रुम’ मा राखिएको सीसीटीभी स्क्रिनबाट खिचेको दाबी गरेका थिए ।

उनले शनिबार दिउँसो ४ बजे तस्वीर खिचेको र मंगलबार फेसबुकमा अपलोड गरेको बताएका छन् । भुसालका अनुसार उनी हिरासतमा रहेका लामिछानेलाई भेट्न र स्वास्थ्य अवस्था बुझ्न गएका थिए ।

फोटो सार्वजनिक भएपछि कास्की प्रहरीले यसलाई गम्भीर रूपमा लिएको बताएको छ । कास्की प्रहरीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले घटनाको छानबिन भइरहेको र फोटो खिच्ने तथा सार्वजनिक गर्नेहरूमाथि साइबर अपराधसम्बन्धी कानुनअनुसार कारबाही गरिने बताएका छन् ।

उनले फोटो आफूले खिचेर सार्वजनिक गरेको दाबी गरे पनि, प्रहरीले अनुसन्धानपछि मात्रै सत्य के हो भन्ने खुल्ने जनाएको छ । पक्राउपछि थप विवरण बाहिर आउने प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved