रविको तस्वीर बाहिरिएकोबारे एमाले महासचिवको कटाक्ष– अति सबैतिर वर्जित हुन्छ

नेपालभ्युज

रविको तस्वीर बाहिरिएकोबारे एमाले महासचिवको कटाक्ष– अति सबैतिर वर्जित हुन्छ
फाइल तस्वीर

काठमाडौं । सरकारको नेत्तृत्व गरिरहेको दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रहरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको हिरासतमा रहँदाको तस्वीर सार्वजनिक भएको दाबीको घुमाउरो पारामा खण्डन गरेका छन् ।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत रास्वपा नेता दीपक बोहराको दाबीलाई ‘स्टन्ड’को संज्ञा दिँदै अति सबैतिर वर्जित हुने बताएका छन् ।

यसो भन्दैगर्दा महासचिव पोखरेलले कसैको नाम लिएका भने छैनन् । तर उनको भनाइ रास्वपाप्रति लक्षित देखिन्छ ।

‘सोसल मिडियाको स्टन्ट र प्रपोगान्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिन्छन्,’ उनले फेसबूकमा लेखेका छन्, ‘अति सर्वत्र वर्जयेत !’

प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति लामिछानेको सीसीटीभीबाट लिइएको तस्वीर भनेर अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर छाइरहेको छ । जसमा एकजना व्यक्ति सिरह ओढेर सुतिरहेको देख्न सकिन्छ ।

यसलाई लिएर प्रहरी हिरासतमा रहेका सभापति लामिछानेको तस्वीर बाहिर सार्वजनिक गरिएको भन्दै रास्वपाका नेताहरूले आक्रोश व्यक्त गरेका छन् ।

प्रहरी हिरासतबाट बाहिरिएको तस्वीर आफ्ना सभापति लामिछानेकै भएको रास्वपाका नेता बोहराले पटक–पटक दाबी गरिरहेका छन् ।

नेता बोहराले फेसबूकमा सोही तस्वीर राख्दै जानाजान प्रहरीले नै सार्वजनिक गरेको दाबी गर्दै आपत्ति जनाएका थिए । कुनै उद्देश्यका लागि तस्वीर सार्वजनिक भएको हुन सक्ने उनले आशंका जनाएका हुन् ।

रास्वपाका नेताले यस्तो दाबी गरिरहँदा कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने तस्वीरमा देखिएका व्यक्ति रास्वपा सभापति लामिछाने नभएको बताइरहेका छन् ।

तस्वीरमा प्रष्ट अनुहार देखिएको छैन । यसले गर्दा तस्वीरमा देखिएका व्यक्ति लामिछाने नै हुन् भन्नेमा कतिपयले शंका गरेको पाइएको छ ।

यसैको उत्तर दिँदै नेता बोहराले तस्वीर लामिछानेको भएको दाबी पुनः दोहोर्याइरहेका छन् ।

सहकारी ठगी प्रकरणमा गत कात्तिक २ मा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् ।

उनलाई जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगपत्र शुक्रबार अदालतमा दर्ता गर्दैछ ।

मंगलबार थप चार दिन हिरासतमा राख्न अनुमति पाएपछि प्रहरीबाट आएको राय प्रतिवेदनलाई अध्ययन गरेर शुक्रबारभित्रै अभियोजन गर्ने सरकारी वकिल कार्यालयको तयारी छ ।

दीपक बोहराको पुनः दाबी– बाहिरिएको तस्वीर रवि लामिछानेकै हो


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved