दीपक बोहराको दाबी– बाहिरिएको तस्वीर रवि लामिछानेकै हो
नेपालभ्युज
दीपक बोहरा र रवि लामिछाने ।
काठमाडौं । प्रहरी हिरासतबाट बाहिरिएको तस्वीर आफ्ना सभापति रवि लामिछानेकै भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता दीपक बोहराले पुनः दाबी गरेका छन् ।
उनले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबूकमार्फत भिडिओ सन्देश जारी गर्दै सो तस्वीरमा देखिएका व्यक्ति लामिछाने नै भएको दाबी गरेका हुन् ।
यसअघि पनि बोहराले प्रहरी हिरासतमा रहेका सभापति लामिछानेको तस्वीर बाहिर सार्वजनिक गरिएको भन्दै आक्रोश पोखेका थिए ।
प्रहरी हिरासतमा रहेका सभापति रवि लामिछानेको सीसीटीभीबाट लिइएको तस्वीर भनेर अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर छाइरहेको छ । जसमा एकजना व्यक्ति सिरह ओढेर सुतिरहेको देख्न सकिन्छ ।
नेता बोहराले फेसबूकमा सोही तस्वीर राख्दै जानाजान प्रहरीले नै सार्वजनिक गरेको दाबी गर्दै आपत्ति जनाएका थिए । कुनै उद्देश्यका लागि तस्वीर सार्वजनिक भएको हुन सक्ने उनले आशंका जनाएका हुन् ।
बाहिरिएको तस्वीर
‘अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासत कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला,’ बोहराले फेसबूकमा लेखेका थिए ।
रास्वपाका नेताले यस्तो दाबी गरिरहँदा कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले भने तस्वीरमा देखिएका व्यक्ति रास्वपा सभापति लामिछाने नभएको बताइरहेका छन् ।
तस्वीरमा प्रष्ट अनुहार देखिएको छैन । यसले गर्दा तस्वीरमा देखिएका व्यक्ति लामिछाने नै हुन् भन्नेमा कतिपयले शंका गरेको पाइएको छ ।
यसैको उत्तर दिँदै नेता बोहराले तस्वीर लामिछानेको भएको दाबी पुनः दोहोर्याएका हुन् ।
बोहराले तस्वीर सार्वजनिक भएपछि लामिछाने बसिरहेको पोखरास्थित जिल्ला प्रहरी कार्यालयमा कडाइ गरिएको जानकारी आफूले पाएको बताएका छन् । साथै प्रहरीले यसबारे छानबिन पनि सुरु गरेको उनको भनाइ छ ।
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ मा पक्राउ परेका पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् ।
उनलाई जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगपत्र शुक्रबार अदालतमा दर्ता गर्दैछ ।
मंगलबार थप चार दिन हिरासतमा राख्न अनुमति पाएपछि प्रहरीबाट आएको राय प्रतिवेदनलाई अध्ययन गरेर शुक्रबारभित्रै अभियोजन गर्ने सरकारी वकिल कार्यालयको तयारी छ ।
Facebook Comment
Comment