काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार) देखि नकआउट चरणका खेल सुरु हुँदैछन् ।
पहिलो प्लेअफ खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दैछन् । प्लेअफमा पुगेका ४ टोलीमध्ये तेस्रो र चौथोमा स्थान बनाएपछि चितवन र कर्णाली आज एलिमिनेटरमा प्रतिस्पर्धी भएका हुन् । लिग चरणमा चितवन तेस्रो तथा कर्णाली चौथो भएका थिए ।
क्यालिफायर–२ मा स्थान बनाउन भइरहेको यो खेल बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । आजको खेलमा पराजित टोली बाहिरिने छ । जित्ने टोलीले क्वालिफायर– १ मा पराजित टोलीसँग फाइनलमा पुग्न प्रतिस्पर्धा गर्नेछ ।
दिउँसो १ हुने पहिलो क्वालिफायरमा लिगमा क्रमशः पहिलो र दोस्रो भएका टोली सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
क्वालिफायर–१ मा जित हासिल हासिल गर्ने टोलीले फाइनलमा स्थान पक्का गर्नेछ । पराजित टोलीले भने दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । जसका लागि चितवन र कर्णालीबीच भिडन्त हुन लागेको हो ।
दुवै टोली आज एक–अर्कालाई हराएर क्वालिफायर- २ मा स्थान बनाउन चाहन्छन् ।
कस्ता छन् यी दुई टोली ?
चितवन राइनोज
चितवन राइनोज जायन्ट किलर टोली हो । चितवनले सुदूरपश्चिम र जनकपुरलाई हराएको छ । बलिया मानिएका टोलीलाई हराउन सक्ने क्षमता रहेकोले यसले एनपीएलको उपाधिमा पनि बलियो दाबी पेस गरेको छ ।
चितवनका हरेक खेलाडीमा खेल उल्टाउन सक्ने क्षमता रहेको छ । फास्ट बलर र मिडल अर्डर यस टोलीको हतियार हो ।
ओपनर हसन इस्कानाजीले पनि सुरुवाती गति दिन टोलीमा महत्वपूर्ण भूमिका निभाइरहेका छन् । उनले सुदूरपश्चिमलाई हराउन ६५ रनको अर्धशतकीय पारी खेलेका थिए । उनले अन्य खेलमा भने त्यति गतिलो प्रदर्शन गर्न सकेका छैनन् ।
टोलीका हतियार नै हुन्, कप्तान कुशल मल्ल । उनको ब्याट र बल गज्जबैले चलिरहेको छ । उनले ८ विकेट लिनुका साथै २०२ रन बनाएका छन् । उनी सबैभन्दा धेरै रन बनाउनेको सूचीमा चौथो स्थानमा छन् ।
यस्तै, इंग्लिस खेलाडी रवि बोपाराको ब्याटिङमा धेरै एकरुपता छ । उनी टोलीबाट सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । उनले २३३ रनसहित सर्वाधिक रन बनाउनेको सूचीमा दोस्रोमा छन् । सूचीमा पहिलो स्थानमा रहेका रोहित पौडेललाई उनले पछि पार्ने सम्भावना छ ।
बलिङतर्फको नेतृत्व पाकिस्तानका पूर्वखेलाडी सोहिल तानबिरले गरिरहेका छन् । उनले आफ्नो पहिलो खेलमै काठमान्डु गुर्खाजविरुद्ध ५ विकेट लिएर क्षमता देखाइसकेका छन् । उनले अहिलेसम्म १२ विकेट लिएका छन् ।
यस्तै रिजन ढकाल पनि अर्का महत्त्वपूर्ण हतियार हुन् । रिजनले अहिलेसम्म १३ विकेट लिएका छन् । उनी सबैभन्दा धेरै विकेट लिनेको सूचीमा तेस्रो स्थानमा छन् ।
कर्णाली याक्स
कर्णाली याक्स एनपीएलको सबैभन्दा धेरै चर्चामा रहेको टोली हो । भारतीय खेलाडी शिखर धवनको अनुबन्धले चर्चित बनाए पनि प्लेअफमा पुग्न भने अन्तिमसम्म कुर्नु परेको थियो ।
यस टोलीमा टप अर्डरमा सन्तुलन छैन । सुरुका केही खेलमा धवन र देव खनालको जोडी ओपनिङमा आउँथ्यो । तर, उक्त जोडी जम्न सकेन । खनालले विराटनगर किंग्सविरुद्ध ५३ रन बनाउनुबाहेक सम्झनालायक प्रदर्शन गरेका छैनन् । यता, धवनले भने ४ खेलमा १३६ रन बनाए । उनी स्वदेश फर्किसकेका छन् ।
यस टोलीको बलियो पक्ष मिडल अर्डर र बलिङ हो । विलियक बिस्सोटोले गतिलो प्रदर्शन गर्दै आइरहेका छन् । उनी दुई खेलमा म्यान अफ द म्याच भइसकेका छन् ।
चार खेलमा मात्र ब्याटिङ गरेका उनले ६६, २, ४४ र १६ रन बनाएका छन् साथै ८ विकेट लिएका छन् । बलिङमा उनलाई साथ दिएका नन्दन यादवले ७ विकेट लिएका छन् ।
कर्णालीको कप्तानी नेपाली राष्ट्रिय टोलीका नियमित सदस्य सोमपाल कामीले गरिरहेका छन् ।
Facebook Comment
Comment