काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले आज (मंगलबार) आफ्ना सबै सांसदहरूलाई लोकसभाको काम–कारबाहीका उपस्थित रहन ह्विप जारी गरेको छ ।
लोकसभामा महत्त्वपूर्ण विधेयक पेस हुन लागेकाले भाजपाले आफ्ना सबै सांसदलाई अनिवार्य रुपमा संसदमा उपस्थित हुन निर्देशात्मक आदेश दिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
ह्विपमा भनिएको छ, ‘भाजपा सबै सांसदलाई सूचित गरिन्छ कि मंगलबार लोकसभामा केही महत्त्वपूर्ण विधायी कार्यहरू छलफल र पारितका लागि ल्याइने छ ।’
भाजपापछि शिवसेनाले पनि आफ्ना सांसदहरूलाई लोकसभामा उपस्थित रहन ह्विप जारी गरेको छ ।
रिपोर्टका अनुसार मंगलबार पेश हुने विधेयकमध्ये ‘एक राष्ट्र एक निर्वाचन’ विधेयक पनि हुनसक्छ । यो विधेयकले भर्खरै मन्त्रिपरिषद्को स्वीकृति पाएको छ ।
देशमा लोकसभा र प्रदेश सभाको निर्वाचन एकैसाथ गराउन केन्द्र सरकारले पूर्वराष्ट्रपति रामनाथ कोविन्दको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको थियो ।
यो समितिले एक राष्ट्र एक निर्वाचनको सिफारिस गरेको थियो ।
Facebook Comment
Comment