खुला वक्तृत्वकला प्रतियोगितामा क्यानडाकी रोचना प्रथम

नेपालभ्युज

खुला वक्तृत्वकला प्रतियोगितामा क्यानडाकी रोचना प्रथम

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) इजरायलद्वारा आयोजित विश्वव्यापी खुला वक्तृत्वकला प्रतियोगितामा क्यानडाबाट सहभागी रोचना घिमिरे प्रथम भएकी छिन् । शनिबार आयोजित प्रतियोगितामा प्रथम पुरस्कार हासिल गर्दै उनले २ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन् ।

यस्तै पोल्यान्डबाट सहभागी जस्मिन बेगनले दोस्रो स्थान हासिल गर्दै रु एक लाख पुरस्कार प्राप्त गरे भने तेस्रो स्थान हासिल गर्दै रुसबाट सहभागी समिरा केसीले रु ५० हजार नगद पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा जापानबाट सहभागी एरिका सापकोटाले सान्त्वना पुरस्कारका लागि नगद ३० हजार रुपैयाँ प्राप्त गरेकी छिन् ।

प्रतियोगितालाई दुई उमेर समूहमा (१७ वर्षसम्मका र १८ देखि ४० वर्षसम्मका) विभाजन गरी सञ्चालन गरिएको थियो । निर्णायकमण्डलमा गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष तथा साहित्यकार जीवा लामिछाने, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र पूर्वमिस नेपाल सुगरिका केसी रहेका थिए ।

आयोजक एनसीसी इजरायलका अध्यक्ष कृष्ण भण्डारीले विदेशमा रहेका नेपालीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले गैरआवासीय नेपालीहरूलाई एउटै मञ्चमा ल्याउनाका साथै भविष्यमा अगाडि बढ्न थप हौसला प्रदान गरेको बताए । यस्तै, कार्यक्रमले सहभागीहरूको वक्तृत्व क्षमता प्रदर्शन र नेपाली भाषा–संस्कृतिको प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको सङ्घका अध्यक्ष डा बद्री केसीले बताए ।

एनसीसी इजरायलले आफ्नो १७औँ वार्षिककोत्सवका अवसरमा आयोजना गरेको प्रतियोगितामा विभिन्न देशबाट ३० जना सहभागी थिए भने दुईजना अतिथि वक्ता ओजस्वि आचार्य र पेन्सा रेग्मी उपस्थित रहेका थिए । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved