भारतीय प्रधानमन्त्री मोदीले दिए सन् २००१ को संसद् आक्रमणमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि

नेपालभ्युज

भारतीय प्रधानमन्त्री मोदीले दिए सन् २००१ को संसद् आक्रमणमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री मोदी लगायत नेताहरूले सन् २००१ को संसद् आक्रमणमा मृत्यु भएकाप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले सन् २००१ मा संसद् भवनमा भएको आक्रमणमा आफ्नो जीवन उत्सर्ग गर्ने वीर योद्धाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरूको बलिदानले राष्ट्रलाई सदैव प्रेरणा दिने बताएका छन् ।

सन् २००१ को डिसेम्बर १३ मा लश्कर–ए–तैयबा र जैश–ए–मोहम्मदले संसद्मा आक्रमण गर्दा दिल्ली प्रहरीका पाँच, संसद् सुरक्षा सेवाका दुई जवान, सीआरपीएफका एक जवान र एक मालीको मृत्यु भएको थियो ।

उक्त घटनाले भारत र पाकिस्तानबीच तनाव बढेको थियो ।

यसैगरी भारतीय राष्ट्रिय काङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले घटनामा शाहदत प्राप्त गरेका सैनिकहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै सिङ्गो देश आतङ्कवादविरुद्ध उभिएको बताएका छन् ।

उनले भने, ‘सन् २००१ को संसद आक्रमणमा मारिएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दछु । उनीहरूको बलिदानले हाम्रो राष्ट्रलाई सधैं प्रेरणा दिनेछ ।’

आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवालले संसद् आक्रमणका क्रममा आफ्नो ज्यानको आहुति दिने सैनिकहरूलाई श्रद्धाञ्जली वइक्त गर्दै भने, ‘कृतज्ञ राष्ट्रको तर्फबाट अमर शहीदहरूप्रति सम्मानपूर्ण श्रद्धाञ्जलि । आज हामीले संसद भवनमा भएको आतङ्कवादी हमलामा शहीद भएका भारत माताका वीर सैनिकहरुलाई श्रद्धाञ्जलि अर्पण गर्दै स्मरण गरेका छौँ ।’

आप प्रमुखले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘आजको दिनले हामीलाई ती वीर सैनिकहरूको सम्झना गराउँछ, जसले संसद भवनमा भएको आतङ्कवादी हमलामा देश र हाम्रो लोकतन्त्रको रक्षाका लागि आफ्नो जीवन बलिदान गरे । ती सबै बहादुर सैनिकहरूको अमर शहादतलाई लाखौं सलाम छ ।’

श्रद्धाञ्जलिले सन् २००१ को डिसेम्बर १३ मा भारतीय संसद्मा भएको भयानक आतङ्ककारी हमलाको स्मरण गराएको छ ।

सन् २००१ को डिसेम्बर १३ मा गृह मन्त्रालय र संसदको लेबल भएको कारमा संसद्मा प्रवेश गरेका पाँच जना आतङ्ककारी मारिएका थिए । त्यतिबेला संसद् भवनभित्र प्रमुख राजनीतिज्ञसहित १०० भन्दा बढी व्यक्ति थिए । बन्दुकधारीहरूले आफूले चलाएको कारमा परिचयपत्रको नक्कली स्टिकर प्रयोग गरी संसदीय परिसर वरपर तैनाथ सुरक्षाकर्मीलाई सजिलै झुक्याउन सफल भएका थिए ।

आतङ्कवादीहरूले एके ४७ राइफल, ग्रेनेड लन्चर र पेस्तोलद्वारा आक्रमण गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved