म्याग्दी । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण उपलब्धिमूलक भएको दाबी गरेका छन् ।
एमाले म्याग्दीको आयोजनामा बिहीबारदेखि बेनीमा सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका सम्झौताले नेपालका विकास आयोजनामा चीनको लगानी भित्रिने भएकाले उपलब्धिपूर्ण मान्नुपर्ने बताए ।
‘बीआरआई फ्रेमवर्क’ सम्झौतामा उल्लेखित आयोजना कार्यान्वयन भएमा नेपालको पूर्वाधार, आर्थिक, जलविद्युत्, व्यापार, खेलकुद र पर्यटन क्षेत्रमा उल्लेख्य योगदान पुग्ने उनको भनाइ थियो ।
बीआरआई सम्झौता ऋण नभएको उपमहासचिव ज्ञवालीले स्पष्ट पारे । अराजकता र अस्थिरताका अन्त्यका लागि भएको एमाले र नेपाली कांग्रेसको सत्ता सहकार्यमा कुनै समस्या नरहेको उनले बताए ।
तीन दिनसम्म चल्ने कार्यक्रममा उपमहासचिव ज्ञवालीसहित प्रदेश इञ्चार्ज किरण गुरुङ, प्रदेश अध्यक्ष नवराज शर्मा, सचिव धनन्जय दवाडी, नेताहरू सुन्दर लामिछाने, टुकराज सिग्देल, नरदेवी पुन, भूपेन्द्र थापालगायतले प्रशिक्षण दिने एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले जानकारी दिए । –रासस
Facebook Comment
Comment