काठमाडौं । भारतीय ग्याङस्टार लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
व्यवसायीहरूलाई धम्की आएको भन्दै केही समयअघि चार जना व्यवसायीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उजुरी दिएका थिए ।
अनुसन्धानपछि सीआईबीले एक जनालाई पक्राउ गरेको हो । पक्राउको पुष्टि भए पनि ती व्यक्तिको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन ।
व्यवसायीका अनुसार धम्की भारत र दुबईका नम्बरबाट आएको थियो । यस घटनाले व्यवसायीहरूमा त्रासको माहोल सिर्जना भएपछि सीआईबीले अनुसन्धानलाई तीव्र दिएको छ ।
विश्नोइ अहिले भारतको सबैभन्दा कडा सुरक्षा रहने जेलमा छन् । उनीमाथि असुली र हत्याको आरोप छ ।
जेलभित्रैबाट उनले आफ्नो समूह परिचालन गर्दै आएका छन् । उनको समूहमा ७ सयभन्दा धेरै सुटर रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ ।
उनले पटक पटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिँदै आएकाछन् ।
Facebook Comment
Comment