काठमाडौं । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पोखराबाट काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान जिल्ला सरकारी वकिलको कार्यालयमा सुरु भएको छ ।
उनको आज (शुक्रबार) बिहान भद्रकालीस्थित सरकारी वकिलको कार्यालयमा बयान सुरु भएको प्रहरी स्रोतले जनाएको छ ।
बुद्ध एयरको उडानमार्फत बिहीबार साँझ काठमाडौं ल्याइएका लामिछानेलाई राति भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिएको थियो ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको अपचलनमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ पुर्जी जारी भएपछि पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेलाई थप अनुसन्धानका लागि बयान लिन थालिएको हो ।
उनीसँगै पक्राउ पुर्जी जारी भएका अर्का आरोपी नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई भने बयान लिएर पोखरा फिर्ता पठाइसकिएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा २ कात्तिकमा पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतमा रहँदै आएका थिए ।
उनीमाथि अदालतले पटक–पटक म्याद थपेर अनुसन्धान गर्न अनुमति दिँदै आएको छ ।
लामिछानेमाथि रुपन्देही र चितवनमा पनि मुद्दा परेको छ । रुपन्देहीमा उनको बयान सकिएको छ भने चितवनमा बाँकी छ ।
Facebook Comment
Comment