काठमाडौं । हाल बैंकिङ क्षेत्रमा तरलता (लगानीयोग्य रकम) प्रशस्त थुप्रिएको छ ।
नेपाल बैंकर्स संघले उपलब्ध गराएको गत कात्तिक महिनाको तथ्यांकअनुसार वाणिज्य बैंकको कुल निक्षेप ५९ खर्ब ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । यद्यपि, कर्जा प्रवाह भने ४६ खर्ब ७९ अर्ब ९१ करोड रुपैयाँ मात्र रहेको छ ।
संघकाअनुसार हाल बैंकहरुसँग ७ खर्ब ११ अर्ब ३८ करोड रुपैयाँ लगानी योग्य रकम छ । बैंकहरुको सीडी रेसियो पनि घट्दो अवस्थामा रहेको छ । हाल बैंक तथा वित्तीय संस्थाहरूले सीडि रेसियो अधिकतम ९० प्रतिशतसम्म कायम हुने गरी कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ । हाल नेपालका सबै बैंकहरुले सहज रूपमा कर्जा दिने अवस्थामा छन् ।
कुन बैंकले कति कर्जा प्रवाह गर्न सक्छन् ?
हाल सबैभन्दा कम सीडी रेसियो राष्ट्रिय वाणिज्य बैंकको देखिएको छ । जुन पूर्णरूपमा सरकारी स्वामित्वमा रहेको बैंक हो । बैंकको रेसियो कात्तिकमा ६३ दशमलव ०१ प्रतिशत छ । यसका आधारमा हाल बैंकसँग १ खर्ब १४ अर्ब ९२ करोड बढी रकम लगानी योग्य छ ।
त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको सीडी रेसियो ६ दशमलव १ प्रतिशत रहेको छ । बैंकले हाल २७ अर्ब बजारमा लगानी गर्न सक्ने अवस्था देखिन्छ । ग्लोबल आइएमई बैंकको सीडी रेसियो ७७ दशमलव ३७ प्रतिशत रहेको छ । जसले ६६ अर्ब ५१ करोड रुपैयाँ कर्जा सहज रूपमा प्रवाह गर्न सक्छ ।
त्यसै गरी, कात्तिक मसान्तसम्म आँकडाअनुसार नेपाल इन्भेस्टमेन्ट मेगासँग ५१ अर्ब ८३ करोड, हिमालयनसँग ४५ अर्ब ३२ करोड, नेपाल बैंकसँग ४४ अर्ब ९७ करोड, प्रभुसँग ४४ अर्ब ५४ करोड, लक्ष्मी सनराजसँग ४० अर्ब ६९ करोड, नबिलसँग ३९ अर्ब ६० करोड रुपैयाँ लगानीयोग्य रकम छ ।
सीडी रेसियोको आधारमा नेपाल एसबिआइ बैंकसँग ३६ अर्ब ८९ करोड रुपैयाँ, कृषि विकाससँग ४२ अर्ब ८३ करोड, एनआइसी एसियासँग २८ अर्ब ८ करोड, एभरेस्टसँग २४ अर्ब ३६ करोड, कुमारीसँग २२ अर्ब ४८ करोड, स्ट्याण्डर्डसँग १९ अर्ब ५९ करोड, सानिमासँग १८ अर्ब ७ करोड, माछापुच्छ्रेसँग १४ अर्ब ६० करोड, एनएमबिसँग १३ अर्ब ५८ करोड, सिटिजनसँग १३ अर्ब ४ करोड र प्राइम कमर्सियल बैंकसँग १० अर्ब २८ करोड रुपैयाँ लगानीयोग्य रकम छ ।
१३ बैंकिङ संस्थाको खराब कर्जा उच्च
बैंकहरुसंग लगानीयोग्य रकम बढेसँगै खराब कर्जाको मात्रा पनि बढिरहेको छ । विशेष गरी, तीन महिनादेखि एक वर्ष भन्दा बढी समय किस्ता तिर्ने भाका नाघेको कर्जालाई खराब कर्जाको रूपमा लिइन्छ । हाल नेपालको १३ बैंकिङ संस्थाको खराब कर्जा उच्च दरमा रहेको तथ्यांकले देखाएको छ ।
जसको खराब कर्जा ७ प्रतिशतदेखि ३४ दशमलव ८१ प्रतिशतसम्म पुगेको छ । खराब कर्जा उच्च दरमा हुनेमा विकास बैंक र वित्त कम्पनीहरू रहेका छन् । जसमा नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्सको खराब कर्जा सबैभन्दा धेरै छ । यिनको खराब कर्जा क्रमशः ३४ दशमलव ८१ प्रतिशत र ३४ दशमलव ६४ प्रतिशत छ ।
समृद्धि फाइनान्सको खराब कर्जा २३ दशमलव ४७ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको १४ दशमलव ७७ प्रतिशत, पोखरा फाइनान्सको १४ दशमलव ४४ प्रतिशत छ । गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको १३ दशमलव ५६ प्रतिशत, एक्सेल डेभलपमेन्टको ११ दशमलव ७३ प्रतिशत, सिन्धु विकास बैंकको ११ दशमलव २९ प्रतिशत छ ।
त्यस्तै, नेपाल फाइनान्सको १० दशमलव ३६ प्रतिशत, सेन्ट्रल फाइनान्सको ८ दशमलव ७१ प्रतिशत, रिलायन्स फाइनान्सको ८ दशमलव ५८ प्रतिशत खराब कर्जा छ ।
प्रोग्रेशिभ फाइनान्सको खराब कर्जा ७ दशमलव ४७ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकको भने ७ दशमलव २७ प्रतिशत खराब कर्जा रहेको पहिलो त्रैमासको वित्तीय विवरणबाट देखिन्छ ।
Facebook Comment
Comment