काठमाडौं । आज (बुधबार) बिहान भएको विश्वकप फुटबल छनाेटकाे खेलमा अर्जेन्टिनाले पेरूमाथि १–० गोलअन्तरको कठिन जित हासिल गर्याे । यससँगै नेपालका अधिकांश सञ्चारमाध्यमले अर्जेन्टिना सन् २०२६ मा क्यानडा, मेक्सिको र अमेरिकामा हुन गइरहेको विश्वकपमा छनोट भएको समाचार लेखे ।
तर यो समाचार तयार पार्दासम्म विश्व फुटबल महासंघ (फिफा)ले आधिकारिक पुष्टि गरेको छैन । अर्कोतिर विश्वभरका सञ्चारमाध्यले पनि अर्जेन्टिना आधिकारिक रुपमा विश्वकपमा छनोट भएको पुष्टि हुने गरी समाचार लेखेका छैनन् ।
‘पेरूलाई हराउँदै अर्जेन्टिना विश्वकप नजिक,’ एपीले लेखेको छ ।

पेरूलाई जितेसँगै दक्षिण अमेरिकी विश्वकप छनोटको शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले १२ खेलबाट २५ अंक जोडेको छ । उ विश्वकप छनोटनजिक पुगेको छ । अझ भनौ अर्जेन्टिना विश्वकपमा छनोट हुन अब ‘गणितीय उल्झन’ मात्र बाँकी छ । तर आधिकारिक रुपमा छनोट भएको भने छैन ।
घरेलु मैदान ला बोन्बोनेरामा भएको खेलमा अर्जेन्टिनाले पेरूमाथि १–० गोलअन्तरको कठिन जित निकालेको हो ।
खेलको ५५ औँ मिनेटमा लाउटारो मार्टिनेजले कप्तान लियोनल मेसीको पासमा गोल गरेका थिए ।
Facebook Comment
Comment