कर्णाली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महतले विशिष्ट परिवेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)को संयुक्त सरकार बनेको बताएका छन् ।
प्रेस युनियन सुर्खेतद्वारा मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले विशिष्ट परिस्थिति सिर्जना भएकाले दुई शक्तिको समीकरणमा सरकार बनेको बताए ।
आसन्न उपनिर्वाचनमा कहीँकतै समीकरण भए पनि आगामी निर्वाचनमा अहिले गठनबन्धन गरिरहेका पार्टीहरू एक्लाएक्लै प्रतिस्पर्धामा जाने उनले प्रष्ट्याए ।
कांग्रेसको एक सय दिनको अभियान र उपनिर्वाचनको प्रचारप्रसारका क्रममा कर्णाली पुग्नुभएका पूर्वअर्थमन्त्री महतले आफूले अर्थ मन्त्रालय सम्हाल्दा कर्णाली राजमार्गलगायत अपर कर्णालीका लागि ठूलो बजेट विनियोजन गरेको बताए । यद्यपि बजेट विनियोजन गरेपश्चात् सरकारबाट बाहिरिनुपरेकाले कार्यान्वयन प्रक्रियामा ढिलाइ भएको उनको भनाइ थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने मात्रै नभएर पार्टी उपसभापति धनराज गुरुङविरुद्ध आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको उल्लेख गर्दै प्रवक्ता महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण मुलुकको हितका लागि हुने बताए ।
बागलुङ हुँदै रुकुम, जाजरकोट, दैलेखलगायतका जिल्लामा घुम्ने क्रममा आफूले उपनिर्वाचनमा निकै उत्साह देखिएको प्रवक्ता महतको भनाइ थियो । –रासस
Facebook Comment
Comment